
गाब्रिएल मार्टिनेलीले इन्जुरी समयको अन्तिम क्षणमा गरेको निर्णायक गोलको मद्दतमा ब्राजिल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । ह्युस्टनमा भएको रोमाञ्चक प्रतिस्पर्धामा ब्राजिलले जापानलाई २-१ ले पराजित गरेको हो ।
अब ब्राजिलले जुलाई ५ मा न्युयोर्क–न्यु जर्सी स्टेडियममा क्वाटरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ। उसले आइभरी कोस्ट र नर्वेबीचको विजेतासँग खेल्ने तय भएको छ।

ब्राजिलका प्रशिक्षक कार्लो एन्सेलोटीले खेलअघि आफ्ना खेलाडीलाई दिमाग, मुटु र स्पष्ट सोचसहित खेल्न आग्रह गरेका थिए। जापानविरुद्ध पुनरागमन जित निकाल्न ब्राजिललाई यी तीनै कुराको आवश्यकता पर्यो।
खेलको २९औं मिनेटमा काइशु सानोले गोल गर्दै जापानलाई सुरुवाती अग्रता दिलाए। ब्राजिलको कमजोर पासलाई नियन्त्रणमा लिँदै डिफेन्सको खाली ठाउँको फाइदा उठाएर उनले दायाँ खुट्टाले उत्कृष्ट प्रहारमार्फत आफ्नो अन्तर्राष्ट्रिय करियरको पहिलो गोल गरे।

दोस्रो हाफमा ब्राजिलले लगातार दबाब बढाउँदै खेलमा पुनरागमन गर्यो । केही अवसर गुमाएपछि ५६औं मिनेटमा गाब्रिएल मागाल्हाएसको सटिक क्रसमा कासेमिरोले शक्तिशाली हेडर गर्दै खेल १-१ को बराबरीमा ल्याए।
बराबरी गोलको केही मिनेटपछि भिनिसियस जुनियरले ब्राजिललाई अग्रता दिलाउने अवसर पाए पनि जापानी गोलरक्षक जियोन सुजुकीले उत्कृष्ट बचाउ गरे। अर्को एक प्रहार पोस्टमा लाग्दा ब्राजिल निराश बन्न पुगेको थियो।
ब्राजिलको आक्रमण अन्तिमसम्म जारी रहँदा इन्जुरी समयको पाँचौं मिनेटमा मार्टिनेलीले निर्णायक गोल गरे। ब्रुनो गिमारेसको पासमा उनले सुजुकीलाई बिट गरेपछि ह्युस्टन रंगशालामा उपस्थित ब्राजिली समर्थकहरू उत्सवमा रमाए ।
यो जितसँगै ब्राजिलको कीर्तिमानी छैटौं विश्वकप उपाधिको अभियान जारी रहँदा जापान भने विश्वकपको नकआउट चरणमा पहिलो जित निकाल्ने लक्ष्य पूरा गर्न असफल भएको छ । मार्टिनेलीले ब्राजिलका लागि गरेको यो पाँचौं अन्तर्राष्ट्रिय गोल हो, जसमा ३ गोल उनले अमेरिकाको भूमिमा गरेका हुन्।









प्रतिक्रिया