सागसब्जी र खसीबोका बिक्रीबाट २० महिनामा ८ करोड आम्दानी

पर्वत जिल्लाकै सबैभन्दा विकट र सानो स्थानीय तहका रूपमा चिनिने महाशिला गाउँपालिकाले सागसब्जी र खसीबोका बिक्री गरेर पछिल्लो २० महिनामा ८ करोड रुपैयाँ आम्दानी गरेको छ । पालिकाका ६ वटै वडाका ८८३ कृषकले उत्पादन गरेका सागसब्जी, खसीबोका, स्थानीय जातका कुखुरा र दूध बिक्री गरी उक्त रकम गाउँमा भित्रिएको गाउँपालिकाका अध्यक्ष ईश्वरी भुसालले बताए । यहाँ उत्पादित कृषिजन्य वस्तुहरू सदरमुकाम कुश्मा, छिमेकी जिल्ला स्याङ्जा र पोखरामा बिक्री हुने गरेको छ ।

पोखराको बिरौटामा रहेका तरकारी पसलहरूमा महाशिलाको सागसब्जी र खसीबोका किन्न बिहानैदेखि उपभोक्ताहरू कुरेर बस्ने गरेका छन् । गाउँमा प्राङ्गारिक तरिकाले उत्पादित स्थानीय जातका वस्तुहरू स्वास्थ्यकर हुने भएकाले ग्राहकको पहिलो रोजाइमा महाशिलाकै उत्पादन पर्ने गरेको पूर्वअध्यक्ष जीवनविक्रम उच्चैले जानकारी दिए । यहाँ व्यावसायिक तरकारी खेतीमा लागेका प्रत्येक कृषकले वार्षिक न्यूनतम २ लाखदेखि १० लाख रुपैयाँसम्म आम्दानी गर्न सफल भएका छन् ।

Advertisement

कृषकहरूलाई प्रोत्साहन गर्न गाउँपालिकाले सागसब्जीमा प्रतिकिलो ५ रुपैयाँ, मासुजन्य वस्तुमा २५ रुपैयाँ र दूधमा प्रतिलिटर १० रुपैयाँ अनुदान दिँदै आएको छ । कृषकको उत्पादनको यकिन मापनका लागि पालिकाभित्रका मुख्य टोलहरूमा ३३ वटा तराजु वितरण गरिएको छ । त्यस्तै, गोठ र बाख्राको खोर सुधारका लागि ५० प्रतिशत अनुदान दिएपछि कृषकहरूको आकर्षण झनै बढेको छ ।

कृषकले उत्पादन गरेका वस्तुहरू संकलन गर्न गाउँपालिकाले दुई जना बजार प्रतिनिधि नियुक्त गरेको छ, जसले कृषकका घर–घरमै पुगेर उत्पादन संकलन गर्ने गर्छन् । पूर्ण रूपमा कृषिमा आश्रित परिवार र व्यावसायिक कृषि कर्जा लिने कृषकका लागि ब्याजमा निश्चित अनुदान दिने कार्यक्रम समेत पालिकाले सञ्चालन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री