
हरेक वर्षको जेष्ठ शुक्ल पूर्णिमाका अवसरमा काभ्रेपलाञ्चोकको ऐतिहासिक सहर पनौतीमा मनाइने प्रसिद्ध हिलेजात्रा अर्थात् ज्याःपुन्ही गत शनिबारदेखि सुरु भएको छ । पनौतीवासीले त्रयोदशीदेखि पूर्णिमाको रात रहुञ्जेल धुमधामका साथ यो जात्रा मनाउँछन् । जात्रा सकिएको भोलिपल्टैदेखि खेतको काम थाल्ने यहाँको पुरानो परम्परा रहेकाले यसलाई हिलेजात्रा भनिएको हो । जेष्ठ शुक्ल पूर्णिमाको दिन जात्रा नमनाउने र मङ्सिर पूर्णिमाको रात निद्रा नपुर्याउनेले कहिल्यै सुख पाउँदैन भन्ने जनविश्वास यहाँ बलियो छ ।
जात्राको मौसम र प्राकृतिक चक्रको सम्बन्ध अनौठो देखिन्छ । जात्रा मनाएको चार दिनदेखि पनौतीमा हावाहुरी चल्ने र वर्षा सुरु हुने गर्छ । जात्राको अन्तिम दिन पनि वर्षा हुनैपर्ने स्थानीय बूढापाकाको अनुभव छ । जात्रा अवधिभर स्थानीयले आफ्ना पाहुनालाई बोलाएर स्वागत सत्कारका साथ भोज खुवाउँछन् । भोजका लागि अधिकांशका घरमा बलि दिने प्रथा अझै कायम छ । जात्रामा चिउली र केरा खाएर घुम किन्नुपर्ने अर्को रोचक मान्यता पनि छ ।
परापूर्वकालमा पनौती पारिपट्टिका ब्रह्मायणी र भद्रकालीको पूजा गर्न जान समस्या परेपछि ललितपुरको बुङ्गमतीबाट वासुकी नाग आएर पुण्यमाताको बाढीमा पुलजस्तै तेर्सिएर देवतालाई तारेको स्मरणमा यो जात्रा मनाउन थालिएको हो । करिब ५० मिटर चौडा पुण्यमाता खोलामा त्रयोदशीका दिन नागको प्रतीकका रूपमा दुईवटा बाँस तेर्स्याएर देवता तारिन्छ । चतुर्दशीका दिन पनौतीका सम्पूर्ण देवीदेवताका मठमन्दिरमा पूजाअर्चना गरी इन्द्रेश्वर महादेव मन्दिरको पूर्वमा रहेको गणेशको मूर्तिलाई खटमा राखी नगर परिक्रमा गराइन्छ ।
जात्राको मुख्य आकर्षण पूर्णिमाका दिन सबेरै बजारमा भद्रकाली, महादेव र इन्द्रेश्वरका तीनवटा रथको भागदौड गराएर एकापसमा जुधाउनु हो । धार्मिक र सांस्कृतिक विश्लेषणका आधारमा काम–क्रीडासँग सरोकार राख्ने यो रथ जुधाइलाई यौनजन्य प्रस्तुतिका रूपमा लिइन्छ । भद्रकालीले कामोत्तेजक भई महादेवलाई लखेट्ने र महादेवले उन्मत्त भैरवको रूप धारण गरी भद्रकालीलाई भगाउने पौराणिक मान्यता अनुसार रथ जुधाइने र अबीर जात्रा गरिने भएकाले यसमा युवायुवतीको उत्साहजनक सहभागिता रहन्छ । पहिले झिसमिसेअगावै सकिने यो विधि पछिल्ला वर्षहरूमा दिउँसो गर्न थालिएको छ ।
धार्मिक रूपले पनौती अत्यन्तै महत्त्वपूर्ण क्षेत्र हो, जहाँ काष्ठमण्डपपछिको पुरानो कलाकौशलयुक्त इन्द्रेश्वर महादेव मन्दिर अवस्थित छ । शरीरभरि योनी भएका देवराज इन्द्रले यहाँ १२ वर्षसम्म तपस्या गरेर पापमुक्त भएपछि १२ वर्षे मकर मेला सुरु भएको मानिन्छ । राजा प्रताप मल्लले रानीपोखरी बनाउँदा पनौतीस्थित त्रिवेणीघाटको जल पनि राखेका थिए । पुण्यमाता, रोशी र गुप्त रूपमा बहने पद्मावती नदीको यो संगमस्थललाई प्रयागराज जत्तिकै पवित्र मानिन्छ ।
पनौती र पाटनमा ठूलो खडेरी पर्दा फुल्चोकी माताले जसले पहिले सुन-चाँदीको फूल चढाउँछ, उसैलाई पानी दिने बताएकी थिइन् । पाटनका तान्त्रिकले वास्तविक सुन-चाँदीको फूल बनाउन समय लगाए तर पनौतीका तान्त्रिकले सुन-चाँदी जस्तै देखिने तोरी र मूलाको फूल चढाएर खेतीका लागि पानीको वरदान पाएका थिए । ६ वर्षपछि पाटनले पनि वरदान पाएपछि आधा पानी गोदावरी पठाइयो, जसका कारण ६-६ वर्षमा गोदावरी र १२-१२ वर्षमा मकर मेला लाग्ने जनविश्वास छ । यहाँ हरेक वर्ष माघमा माधवनारायण देवतालाई ल्याएर दुई दिन राख्ने परम्परा छ ।









प्रतिक्रिया