राष्ट्रिय धान दिवस : ‘ड्रोन’मार्फत मल, ‘मेसिन’मार्फत रोपियो धान

‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ सोमबार ललितपुरको खुमलटारमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ मनाइएको छ । राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र र बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रद्वारा आयोजित उक्त महोत्सवमा ड्रोनमार्फत मल छरेर र मेसिनको प्रयोग गरी धान रोपेर आधुनिक प्रविधिको सुरुआत गरिएको हो । प्रतिनिधिसभा, कृषि तथा प्राकृतिक स्रोत समितिका संयोजक अशोककुमार चौधरीले धान रोप्ने खेतमा ड्रोन उडाएर महोत्सवको औपचारिक शुभारम्भ गरे ।

Advertisement

संयोजक चौधरीले खाद्यान्नमा देशलाई आत्मनिर्भर बनाउन सरकार लागिपरेको उल्लेख गर्दै किसानको वास्तविक समस्या पहिचान गरी समाधान गर्नुपर्नेमा जोड दिए । नेपाललाई आवश्यक धानको परिपूर्तिका लागि उचित समर्थन मूल्य, सिँचाइ र प्रविधिको विकासमा ध्यान दिन आवश्यक रहेको उनको भनाइ थियो । राष्ट्रिय योजना आयोगका सदस्य डा. देवेन्द्र गौचनले नीतिगत व्यवस्था राम्रो भए पनि संरचनागत सुधारको खाँचो औंल्याउँदै जलवायु अनुकूलन र पोषणयुक्त धान उत्पादनमा ध्यान दिन आग्रह गरे ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले तीव्र सहरीकरण र प्लटिङका कारण खेतीयोग्य जमिन घट्दै जाँदा धान उत्पादनमा ह्रास आउने जोखिम बढेको बताए । यान्त्रिकीकरणको प्रयोगबाट लागत घटाई उत्पादकत्व बढाउनुपर्नेमा जोड दिँदै उनले सरकारले चैते धान प्रवर्द्धनका लागि खाद्य सुरक्षा मिसन बनाएर काम गरिरहेको जानकारी दिए । कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले विभागले किसान र सिँचाइका समस्या समाधानका लागि ध्यान दिएर काम गरिरहेको बताए ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कायममुकायम निर्देशक डा. श्रीमत श्रेष्ठले खडेरी र डुबान प्रतिरोधी धानको बीउ विकासमा परिषद् लागिपरेको भए पनि उन्नत प्रविधिको विकासका लागि बजेट अभाव भएको गुनासो गरे । इरीका अन्तर्राष्ट्रिय संयोजक डा. होमनाथ भण्डारीले न्यून जनशक्तिबाट बढी उत्पादन लिन एआई प्रविधिको उपयोगमा जोड दिएको बताए । बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख केशव देवकोटाले देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा धानको योगदान चार प्रतिशत रहेको र हालसम्म १४० जातका धानका बीउ उत्पादन भएको कार्यपत्र प्रस्तुत गरे । नार्कका बाली तथा वागवानी निर्देशक डा. टेक गोतामेले आयात प्रतिस्थापनका लागि योजनाबद्ध कार्यक्रम सञ्चालन भइरहेको बताए ।

महोत्सवका अवसरमा उत्कृष्ट चैते धान उत्पादक कृषक, रैथाने धानको संरक्षण गर्ने संस्था, जातीय प्रवर्द्धनमा योगदान पुर्‍याउने वैज्ञानिक, मिल, जोन, सामुदायिक धान नर्सरी र उत्कृष्ट कृषि पत्रकारलाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री