
सरकारले खाद्य सुरक्षा, गुणस्तर तथा उपभोक्ता स्वास्थ्य संरक्षणलाई उच्च प्राथमिकतामा राख्दै बजार अनुगमनलाई तीव्र बनाएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयकी मन्त्री निशा मेहेताको निर्देशनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आइतबार काठमाडौँ उपत्यकामा घुम्ती प्रयोगशाला (मोबाइल ल्याब) सहित तीनवटा टोली परिचालन गरी व्यापक निरीक्षण गरेको हो ।
अनुगमनका क्रममा काठमाडौँको बानेश्वरस्थित आनन्द भूमि बिजनेस सेन्टरको स्टोरमा ‘कस्मेटिक ग्रेड’ को ‘रोज वाटर’ खाद्य प्रयोजनका लागि राखेको भेटिएपछि टोलीले त्यसलाई तत्काल नष्ट गरेको छ । अखाद्य रोज वाटर बिक्रीका लागि राख्ने ती व्यवसायीलाई आवश्यक कागजातसहित पाँच दिनभित्र विभागमा उपस्थित भई स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ ।
अनुगमनमा खटिएको दोस्रो टोलीले कालीमाटी फलफूल तथा तरकारी बजारबाट संकलन गरेका २२ वटा ताजा तरकारी तथा फलफूलका नमुनाहरूको विषादी अवशेष परीक्षण गरेको थियो । परीक्षण गरिएका सबै नमुनाहरूको प्रतिवेदन खाद्य मापदण्ड अनुकूल अर्थात् सुरक्षित रहेको विभागले जनाएको छ ।
त्यसैगरी, विभागको टोलीले भक्तपुरस्थित दुईवटा डेरी उद्योगमा पुगेर उत्पादन प्रक्रिया, सरसफाइ र गुणस्तर व्यवस्थापनको अवस्थाबारे निरीक्षण गरेको छ । अनुगमनका क्रममा टोलीले ती उद्योगहरूलाई सुधार गर्नुपर्ने पक्षहरू औंल्याउँदै आवश्यक निर्देशन दिएको छ ।
मन्त्री निशा मेहेताले जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएका खाद्य तथा उपभोग्य वस्तुको गुणस्तरमा कुनै पनि बहानामा सम्झौता नहुने स्पष्ट पारेकी छन् । उपभोक्ताको स्वास्थ्यमा जोखिम पुर्याउने व्यक्ति वा संस्थामाथि कानुनबमोजिम कडा कानुनी कारबाही गरिने उनले बताइन् ।
बजारलाई सुरक्षित, स्वच्छ र गुणस्तरीय बनाउन मन्त्रालयको यो नियमन अभियान अझ प्रभावकारी ढंगले निरन्तर अगाडि बढ्ने मन्त्री मेहेताले जानकारी दिइन् । विभागले अनुगमनसम्बन्धी विस्तृत विवरण प्रतिवेदनमार्फत सार्वजनिक गरिसकेको जनाएको छ ।









प्रतिक्रिया