
कुनै बेला जस्ताका टहराले घेरिएको तथा फोहर र दुर्गन्धले भरिने गरेको गोंगबुस्थित नयाँ बसपार्क पछिल्लो समय व्यवस्थित बन्दै गएको छ । काठमाडौँ महानगरपालिका–२६ विष्णुमती खोला किनाराको १६१ रोपनी क्षेत्रफलमा फैलिएको यो बसपार्क अहिले विगत जस्तो भद्रगोल छैन । महानगरको पहल र जापान अन्तर्राष्ट्रिय सहयोग निकाय (जाइका) को प्राविधिक सहयोगमा निर्माण भएको यो पार्क चुस्त ट्राफिक व्यवस्थापनका कारण सफा र व्यवस्थित देखिएको हो ।
विगतमा यात्रुलाई दुःख दिने विचौलिया र फुटपाथका ठेलाहरू अहिले बसपार्कभित्र कतै देखिँदैनन् । विसं २०५६ मा महानगरपालिका र ल्होत्से बहुउद्देश्यीय प्रालिबीच ‘सार्वजनिक–निजी साझेदारी’ अन्तर्गत सम्झौता भई यो बसपार्क सञ्चालनमा आएको थियो । विसं २०७१ देखि इन्जिनियर दीपक कुँवरले यसको व्यवस्थापन सम्हालेपछि ४५० सवारी पार्किङ क्षमतालाई बढाएर ८०० पुर्याइएको छ ।
अहिले बसपार्कभित्र व्यवस्थित टिकट काउन्टर, पेट्रोल पम्प, सुविधासम्पन्न ल्होत्से मल, खाजाघर, अपाङ्गमैत्री शौचालय र हरियाली क्षेत्र बनाइएको छ । सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयको सहयोगमा निःशुल्क इन्टरनेट सेवा जडान गरिएको छ भने ५० जना सरसफाइकर्मी दैनिक खटिने गरेका छन् । ल्होत्सेका अध्यक्ष कुँवरले आफ्नो १० वर्षे कार्यकालमा भूकम्प, नाकाबन्दी र कोरोना महामारी जस्ता ठूला आरोहअवरोह झेल्नुपरेको बताए ।
पछिल्लो समय परम्परागत शैलीलाई विस्थापित गर्दै कम्प्युटराइज्ड र अनलाइन टिकटिङ प्रणाली सुरु गरिएको छ । पूर्वयातायात व्यवस्थापन प्रालिका सञ्चालक राजेन्द्र थापाले आफ्ना १०० भन्दा बढी बसमा सीसी क्यामरा र अनलाइन टिकटको व्यवस्था मिलाइएको जानकारी दिए । ल्होत्सेले हाल महानगरलाई वार्षिक १ करोड रुपैयाँभन्दा बढी राजस्व तिर्दै आएको छ भने सम्झौता सकिएपछि सम्पूर्ण संरचना महानगरलाई नै हस्तान्तरण हुनेछ ।
सुधारका प्रयास भइरहँदा बसपार्कको ल्होत्से मलले ठूलो सुरक्षा चुनौती र आर्थिक क्षति बेहोरेको छ । विसं २०७९ फागुन १ गते यातायात मजदुरको आन्दोलनका क्रममा मलभित्र ७ करोड रुपैयाँ बराबरको लुटपाट र तोडफोड भएको थियो । यस्तै, विसं २०८२ भदौ २४ गते जेन्जी आन्दोलनका क्रममा मलमा आगो लगाइँदा ३५ करोड रुपैयाँ बराबरको क्षति भएको थियो । यस्ता घटनाले बसपार्कको सुरक्षा व्यवस्थापनमा गम्भीर प्रश्न खडा गरेको छ ।
हाल यस बसपार्कबाट दैनिक ३५० देखि ४०० सार्वजनिक सवारीसाधनमार्फत ६० भन्दा बढी जिल्लाका १० हजारभन्दा बढी यात्रु आवतजावत गर्ने ल्होत्सेका महाप्रबन्धक पंकज मल्लले बताए । महानगरले उपत्यकाका विभिन्न ठाउँमा छरिएका बसलाई यहीँबाट सञ्चालन गर्ने नीति लिएपछि माछापोखरी क्षेत्रका धादिङ, नुवाकोट र रसुवा चल्ने बस पनि अहिले नयाँ बसपार्क सरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रमुख सल्लाहकार विजयबहादुर स्वाँरले सवारी थपिँदै जाँदा बसपार्क साँघुरो बन्दै गएकाले सबै पक्ष मिलेर यसलाई अझै नमूना बनाउनुपर्ने औंल्याए ।
नयाँ बसपार्कको विकाससँगै गोँगबु, टोखा र माछापोखरी क्षेत्रमा झण्डै १ हजार होटल तथा १०० को हाराहारीमा डान्सबार र दोहोरी रेष्टुराँ सञ्चालनमा आएका छन् । वडाअध्यक्ष ख्यामराज तिवारीका अनुसार यस क्षेत्रबाट काठमाडौँ महानगरलाई वार्षिक करोडौँ राजस्व संकलन भइरहेको छ । रात्रिकालीन सुरक्षाका लागि प्रहरी प्रभाग नयाँबसपार्क र सामुदायिक सेवा केन्द्रले सक्रियता बढाएका छन् ।









प्रतिक्रिया