पुँजी बजार सुधारका लागि समयसीमासहितको योजना पेस गर्न सेबोन अध्यक्षलाई अर्थमन्त्रीको निर्देशन

नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष डा.गोपालप्रसाद भट्टलाई अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ गराएका छन् । सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा उनलाई शपथ गराइएको हो ।

Advertisement

असार ५ गते बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । शपथपछि अर्थमन्त्री डा.वाग्लेले नवनियुक्त अध्यक्षलाई लगानीकर्ताको लगानीको सुरक्षा र हितमा इमानदारीपूर्वक काम गर्न निर्देशन दिए ।

कुनै पनि प्रकारका लोभ र प्रलोभनबाट टाढा रहेर काम गर्न उनले अध्यक्ष भट्टलाई निर्देशन दिए । लगानीकर्ताको लगानीको सुरक्षा र बजारमा पुँजी परिचालनमार्फत आर्थिक वृद्धिको लय समाउन नवनियुक्त अध्यक्षले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।

कुनै पनि लोभ र प्रभावमा नपरी पुँजीबजारका लगानीकर्ताको लगानीको सुरक्षा गर्न आग्रह गर्दै अर्थमन्त्री डा.वाग्लेले सरकारले सबैखाले सहयोग गर्ने बताए । पुँजी परिचालनमार्फत आर्थिक वृद्धिको बाटो समात्ने वातावरण बनाउन उनले जोड दिए ।

अर्थमन्त्री डा.वाग्लेले पुँजी बजार सुधारका कामहरू गर्न हरेक दिन, हप्ता, महिना, ६ महिना र १ वर्षका योजना पेस गर्न पनि निर्देशन दिए । बजारमा अनावश्यक हल्ला फैलाएर साना लगानीकर्तामाथि त्रास सिर्जना गरिएको भन्दै त्यसलाई चिर्न उनले बताए ।

उनले बोर्ड अध्यक्ष भट्टलाई धेरै बोलेर नभई कामले प्रमाणित गर्न निर्देशन दिए । पुँजी बजार सुधारका योजनाहरू समयसीमा बनाएर कार्यान्वयन गर्न र बजारमा आत्मविश्वास बढाउँदै नियमनको भूमिका निभाउन उनले आग्रह गरे ।

मन्त्रालयबाट कुनै प्रकारको हस्तक्षेप नहुने स्पष्ट पार्दै अर्थमन्त्रीले आफूलाई हरेक हप्ता बजारको ब्रिफिङ चाहिने उल्लेख गरे । कार्यक्रममा बोल्दै नवनियुक्त बोर्ड अध्यक्ष भट्टले सरकार र अर्थमन्त्रीको योजनाअनुसार पुँजी बजारको विकासमा इमानदारीपूर्वक काम गर्ने बताए ।

पुँजीबजार सुधारका लागि विभिन्न समयमा भएका अध्ययन र सिफारिसहरू कार्यान्वयन गर्दै बजारको विकासमा निरन्तर काम गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री