पूर्वप्रधानमन्त्री शेख हसीना यो वर्ष बङ्गलादेश फर्किने

विद्यार्थी नेतृत्वको विद्रोहपछि भारतमा निर्वासनमा रहेकी बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसीनाले यो वर्ष आफ्नो देश फर्किने प्रतिबद्धता जनाएकी छन्। आइतबार प्रकाशित एक अन्तर्वार्तामा उनले हरेक बाधा र षड्यन्त्रलाई पार गर्दै आफू यसै वर्ष स्वदेश फर्किने उल्लेख गरेकी हुन्।

Advertisement

सन् २०२४ को अगस्टमा विद्यार्थी आन्दोलनले ७८ वर्षीया आवामी लिगकी नेतृ हसीनाको १५ वर्ष लामो कठोर शासन अन्त्य गरिदिएको थियो। त्यसपछि सुरक्षाका लागि उनी केही निकट आफन्तसहित छिमेकी मुलुक भारततर्फ भागेकी थिइन्।

भारत पलायन भएपछि जनवरीमा प्रसारित एक सम्बोधनबाहेक उनी सार्वजनिक रूपमा देखिएकी थिइनन्। गत नोभेम्बरमा ढाका अदालतले हसीनालाई हत्याको आदेश दिएको र अत्याचार रोक्न नसकेको अभियोगमा दोषी ठहर गर्दै उनको अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको थियो।

भारतीय ब्रोडकास्टर एनडिटिभीसँगको अन्तर्वार्तामा हसीनाले आफू मृत्युसँग नडराउने बताउँदै उक्त फैसलालाई ‘अवैध, असंवैधानिक र राजनीतिक रूपमा प्रेरित’ भएको दाबी गरिन्। आफूविरुद्ध धेरै षड्यन्त्र रचिए पनि जनताको मतबाट पाँच पटक प्रधानमन्त्री चुनिएर देशको अभूतपूर्व विकास गरेको उनको भनाइ छ।

हसीनाको बहिर्गमनपछि बनेको अन्तरिम सरकारले उनलाई सुपुर्दगी गर्न भारतमाथि ठूलो दबाब दिएको थियो, जसका कारण दुई देशबीचको सम्बन्ध केही समय बिग्रिएको थियो। फेब्रुअरीमा भएको निर्वाचनबाट तारिक रहमान भारी मतका साथ प्रधानमन्त्री निर्वाचित भएसँगै भारत र बङ्गलादेशबीचको सम्बन्धमा केही सुधार आएको छ।

सम्बन्ध सुधारिए पनि हसीनाको सुपुर्दगीलाई लिएर दुई देशबीच अझै तनाव कायम छ। बङ्गलादेशले बारम्बार उनलाई फिर्ता गर्न माग गरिरहेको छ भने उनको पूर्व सत्तारूढ दल अवामी लिगलाई हाल देशमा कुनै पनि राजनीतिक गतिविधि गर्न प्रतिबन्ध लगाइएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री