
राष्ट्रिय धान दिवस तथा असार १५ का अवसरमा मानो रोपेर मुरी फलाउन किसानहरू खेतखेतमा व्यस्त देखिएका छन्। केही समयदेखि पानी नपर्दा चिन्तित बनेका किसानलाई सोमबार बिहानैदेखि सुरु भएको वर्षाले उत्साहित तुल्याएको छ।
मनसुन सक्रिय भएसँगै खेतमा रोपाइँको चटारो थप तीव्र बनेको छ। लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयका अनुसार प्रदेशका १२ जिल्लामा धान रोप्ने कार्यले विस्तारै गति लिन थालेको छ।
लुम्बिनी प्रदेशमा धान खेती हुने कुल ३ लाख १ हजार ३ सय ७२ हेक्टर क्षेत्रफलमध्ये हालसम्म ६२ हजार ६ सय ७० हेक्टरमा मात्रै रोपाइँ सकिएको छ। निर्देशनालयका कृषि प्रचार अधिकृत नवीन गैरेले हालसम्म प्रदेशभर औसत २० दशमलव ८ प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको जानकारी दिए।
यो तथ्याङ्क गत वर्षको यसै अवधिको तुलनामा झण्डै चार प्रतिशतले कमी हो। पर्याप्त वर्षा नहुँदा र मनसुन ढिलो गरी सक्रिय भएकाले यसपालि रोपाइँको सुरुवाती गति सुस्त देखिएको हो।
जिल्लागत विवरणअनुसार पाल्पामा सबैभन्दा बढी ४५ प्रतिशत धान रोपाइँ सम्पन्न भइसकेको छ। रुपन्देहीमा ४३ प्रतिशत, गुल्मीमा २५ दशमलव ७७ प्रतिशत, रुकुम पूर्वमा २५ प्रतिशत र नवलपरासी पूर्वमा २४ दशमलव पाँच प्रतिशत क्षेत्रमा रोपाइँ सकिएको छ।
यसैगरी बर्दियामा १९ दशमलव ३१ प्रतिशत, कपिलवस्तुमा १५ दशमलव आठ प्रतिशत, दाङमा १५ प्रतिशत, अर्घाखाँचीमा ११ दशमलव २७ प्रतिशत, प्यूठानमा आठ प्रतिशत र रोल्पामा चार दशमलव आठ प्रतिशत रोपाइँ भएको छ। यस वर्ष सबैभन्दा कम बाँके जिल्लामा जम्मा शून्य दशमलव पाँच प्रतिशत क्षेत्रमा मात्रै धान रोपाइँ सम्पन्न भएको छ।









प्रतिक्रिया