
यस वर्ष असार मध्य बितिसक्दा पनि पर्याप्त वर्षा नहुँदा बाँकेका खेतका फाँट अझै धुलाम्मे देखिएका छन्। जिल्लाका केही स्थानमा त पानी नपरेर किसानले राखेको धानको ब्याडमै धाजा फाटेको छ।
राप्तीसोनारी गाउँपालिका–७ फत्तेपुरका किसान धुमलिया थारूले विगतका वर्षहरूमा असारको यो समयमा यस्तो समस्या भोग्न नपरेको बताए। वैकल्पिक सिँचाइको व्यवस्था नहुँदा आफूहरू ठूलो मर्कामा परेको उनले उल्लेख गरे।
आफ्नो १० कट्ठा मात्रै जमिन रहेका थारूले परिवार पाल्नका लागि करिब डेढ बिघा क्षेत्रफलमा अधिया खेती गर्दै आएका छन्। विगतमा बर्सेनि १० क्विन्टलसम्म धान उत्पादन गर्ने उनले यसपालि पर्याप्त वर्षा नभए उत्पादन घट्ने चिन्ता व्यक्त गरे।
सिक्टा सिँचाइ र डिपबोरिङको सुविधा भएका केही सीमित स्थानमा मात्रै बाँकेमा रोपाइँ सुरु भएको छ। जिल्लाका अधिकांश खेतका फाँटहरू भने अझै पनि पानीको पर्खाइमा सुक्खा देखिन्छन्।
खासगरी डुडुवा, नरैनापुर र राप्तीसोनारीका दक्षिणी भेगका खेतहरूमा पानी नपर्दा अवस्था निकै दयनीय बनेको छ। कतिपय स्थानमा त किसानले अहिलेसम्म धानको ब्याड समेत राख्न पाएका छैनन्।
कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख विनोद घिमिरेले वर्षा नभए पनि अहिले नै आत्तिनुपर्ने अवस्था नरहेको बताए। किसानको ब्याडमा रहेको बीउ अझै धेरै ठूलो भइनसकेकाले भदौको पहिलो सातासम्म रोपाइँ गर्न मिल्ने उनको भनाइ छ।
अबको केही दिनमा वर्षा सुरु हुने सम्भावना रहेकाले एक सातापछि बाँकेमा रोपाइँले गति लिने प्रमुख घिमिरेले जानकारी दिए। हालसम्म जिल्लाको उत्तरी भेगमा मात्रै केही मात्रामा रोपाइँ भएको छ।
कृषि ज्ञान केन्द्र नेपालगन्जका अनुसार असार १२ गतेसम्म जिल्लामा धान रोपाइँ हुने कुल ३३ हजार ७ सय ८० हेक्टर जमिनमध्ये जम्मा १ सय ६८ दशमलव ९ हेक्टरमा मात्रै रोपाइँ भएको छ। यो कुल क्षेत्रफलको आधारमा मात्रै ० दशमलव ५ प्रतिशत रोपाईं हो।
गत वर्ष जिल्लाको कुल ३४ हजार ७ सय ११ हेक्टर खेतीयोग्य जमिनमध्ये ३ हजार ८ सय १८ हेक्टर अर्थात् ११ प्रतिशत जमिनमा रोपाइँ भएको थियो। गत वर्षको तुलनामा यस वर्ष असार मध्यसम्मको रोपाइँको अवस्था निकै न्यून देखिएको छ।









प्रतिक्रिया