
राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषि क्षेत्रमा आधुनिकीकरण गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। २३औँ राष्ट्रिय धान दिवस, २०८३ का अवसरमा शुभकामना सन्देश दिँदै उनले कृषिलाई आकर्षक पेसाका रूपमा विकास गर्न सके धान र चामलको आयात न्यूनीकरण गर्न सकिने बताए।
विदेश पलायन हुन बाध्य जनशक्तिलाई स्वदेशमै रोक्न कृषि क्षेत्रको विकास हुनुपर्ने राष्ट्रपतिको भनाइ छ। उनले जीवन धान्नका लागि मात्र नभई अब व्यावसायिक कृषितर्फ लाग्न र धान उत्पादनमा आत्मनिर्भर हुन सबैलाई आह्वान समेत गरे।
धान नेपालको प्रमुख खाद्यान्न बाली भएकाले यसको आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिक महत्त्व रहेको उनले उल्लेख गरे। नेपालको धानखेती वर्षामा निर्भर रहने भएकाले खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउन राज्यले ध्यान दिनुपर्ने उनको भनाइ छ।
नेपालको संविधानले प्रत्येक नागरिकको खाद्यसम्बन्धी अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ। सन्देशमा कृषकका लागि कृषि सामग्री, उपजको उचित मूल्य र बजारमा पहुँचको व्यवस्था गर्ने नीतिगत व्यवस्थाबारे पनि स्मरण गरिएको छ।
कृषिमा परनिर्भरता बढेकाले देशमै उत्पादन बढाउने उद्देश्यसहित विसं २०६१ देखि असार १५ लाई धान दिवसका रूपमा मनाउन सुरु गरिएको हो। मानो रोपेर मुरी फलाउने यो महिना नेपाली प्रकृति र माटोसँग निकट रहेको भन्दै उनले श्रम संस्कृतिको विकासमा जोड दिए।









प्रतिक्रिया