
भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्ड (एमएसएस) को अनुगमन तथा मूल्याङ्कनमा देशका सङ्घीय अस्पतालहरूमध्ये प्रथम भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाको परीक्षणमा यसले ८९ अङ्क प्राप्त गरेको हो।
मन्त्रालयले अस्पतालको सेवा गुणस्तर मापनका लागि १ हजार ४ सय ९७ विभिन्न सूचकहरू बनाएर अनुगमन गरेको थियो। यस मूल्याङ्कनमा ७७ अङ्कसहित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान दोस्रो र ७१ अङ्कसहित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान तेस्रो बनेका छन्। पाटन अस्पतालको भने अहिले मापन भइरहेको छ।
गुणस्तर मापन तथा नियमन महाशाखाका संयोजक डा श्रीराम तिवारीले देशभरका १४ वटा सङ्घीय अस्पतालमध्ये भरतपुर अस्पताल सेवा प्रवाहमा सबैभन्दा राम्रो देखिएको बताए। यस अस्पतालले गत वर्ष पनि ८८ अङ्क ल्याएर उत्कृष्ट स्थान हासिल गरेको थियो।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेले अघिल्लो आर्थिक वर्षको तुलनामा चालु वर्षमा सेवामा थप सुधार गरिएको बताए। बिरामीले पाउने सेवा सुविधा, उपलब्ध उपकरण, सरसफाइ, औषधि र जनशक्तिको अवस्थालाई चुस्त बनाएकाले यो नतिजा सम्भव भएको उनको भनाइ छ।
कूल ६ सय श्यया क्षमताको भरतपुर अस्पतालमा हाल दैनिक २ हजार ५ सय देखि ३ हजार जनासम्म बिरामीहरू बहिरङ्ग सेवा लिन आउने गर्छन्। अस्पतालले हाल १४ वटा अतिविशिष्ट सेवाहरू समेत सञ्चालन गर्दै आएको छ।
चितवन जिल्लाका निजी अस्पतालहरूमा स्वास्थ्य बिमा कार्यक्रम बन्द भएपछि यस सरकारी अस्पतालमा बिमाका बिरामीहरूको चाप झनै बढेको छ। सूचकहरूमा उत्कृष्ट देखिए पनि बिरामीको उच्च चाप र सीमित स्रोतसाधनका कारण अपेक्षाअनुसार पूर्ण सेवा दिन अझै नसकिएको डा बगालेले स्वीकार गरे।









प्रतिक्रिया