रास्वपा केन्द्रीय समितिमा ९९ मध्ये ४९ सिटमा महिला विजयी (नामावलीसहित)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचित केन्द्रीय समितिमा झन्डै आधा महिला प्रतिनिधित्व स्थापित भएको छ। बिहीबार भएको निर्वाचनबाट चयन भएका ९९ सदस्यीय केन्द्रीय सदस्यमा ४९ जना महिला उम्मेदवार विजयी भएका हुन्।

Advertisement

यो कुल निर्वाचित सङ्ख्याको ४९.४९ प्रतिशत हिस्सा हो। निर्वाचनमा ३८४ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका थिए।

राति सार्वजनिक भएको मतपरिणाम अनुसार बागमती प्रदेशतर्फ निर्वाचित हुने सबै केन्द्रीय सदस्यहरू महिला मात्र रहेका छन्। नेपालको संविधान र राजनीतिक दलसम्बन्धी ऐनले दलका हरेक कमिटीमा कम्तीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य गरे पनि रास्वपामा त्योभन्दा बढी निर्वाचित भएका हुन्।

भूगोलतर्फ ७५ प्रतिशतभन्दा बढी र खुला प्रतिस्पर्धामा समेत ४० प्रतिशत हाराहारी महिलाहरू निर्वाचित भएर आउनुले पार्टीको नीति निर्माणमा महिला नेतृत्वको बलियो हस्तक्षेप स्थापित भएको सङ्केत गर्छ।

रास्वपाको विधान अनुसार ९९ केन्द्रीय सदस्य निर्वाचनबाट चयन हुने व्यवस्था छ। बाँकी ५१ सदस्य भने पार्टी सभापतिले मनोनीत गर्ने वैधानिक प्रावधान रहेको छ।

पूर्ण केन्द्रीय समिति १ सय ५८ सदस्यीय हुने भएकाले अब मनोनीत गर्दा पार्टीले समग्र जातीय र क्षेत्रीय समावेशिताको सन्तुलनलाई कसरी मिलाउँछ भन्ने चासो बढेको छ। निर्वाचनबाट सोविता गौतम, तोसिमा कार्की, रञ्जु दर्शना, निशा डाँगी, इन्दिरा रानामगर, रिमा विश्वकर्मा, समीक्षा बाँस्कोटा र प्रकृति ढकाल लगायत ४९ महिला नेतृहरू केन्द्रीय समितिमा पुगेका छन्।

त्यस्तै गीता चौधरी, लिमा अधिकारी, टीका संग्रौला, क्रान्तिशिखा धिताल, जमुना शर्मा, शुशीला कार्की पोखरेल, आशिका तामाङ र अनुष्का श्रेष्ठ पनि निर्वाचित भएका छन्। निशा श्रेष्ठ, करिश्मा कठरिया, जुली यादव, कामिनी चौधरी, सविना विक, खिमा विक, समिन्ना मियाँ र निशा मेहता लगायतका नेतृहरूले पनि केन्द्रीय समितिमा स्थान सुरक्षित गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री