सुकुम्बासीलाई २५ हजार दिएर होल्डिङ सेन्टर खाली गराइँदै, वास्तविकलाई १५ हजार भाडा

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासी तथा भूमिहीनहरूलाई ५ दिनभित्र भवन खाली गर्न अल्टिमेटम दिएको छ।

Advertisement

मनसुन सुरु भइसकेको र खोला किनारमा रहेको उक्त केन्द्र बाढी तथा डुबानको जोखिममा रहेकाले वर्षायामअगावै खाली गराउन सोमबार सूचना टाँस गरिएको हो। नदी किनारका जोखिमयुक्त बस्तीहरू हटाइएपछि अस्थायी रूपमा यस सेन्टरमा ६८ परिवारका २ सय ३ जना बस्दै आएका छन्।

सेन्टर छाड्ने प्रत्येक परिवारलाई तत्काल कोठा खोज्न र प्रारम्भिक बन्दोबस्त मिलाउन ‘स्व-व्यवस्थापन’ खर्च स्वरूप एकमुष्ट २५ हजार रुपैयाँ उपलब्ध गराइने समितिले जनाएको छ।

राहत प्राप्त गर्नका लागि पीडित परिवारले आफ्नो बैंक खाता नम्बरसहितको निवेदन पेस गर्नुपर्नेछ र खातामा पैसा जम्मा भएपछि ५ दिनभित्र ठाउँ खाली गर्नुपर्नेछ। सेन्टरबाट हटेकाहरूमध्ये ‘वास्तविक सुकुम्बासी’ प्रमाणित भएका परिवारलाई भूमि आयोगले स्थायी व्यवस्थापन नगर्दासम्म सरकारले मासिक १५ हजार रुपैयाँका दरले कोठा भाडा समेत उपलब्ध गराउनेछ।

नदी किनारका बस्तीहरू हटाइएपछि २ हजार ६ सय ८ जनाले सुकुम्बासीका रूपमा नाम दर्ता गराएका थिए। उपत्यकाका कुल ६ वटा होल्डिङ सेन्टरहरूमा हाल ३ सय ८८ परिवार आश्रित रहेकामा समितिले पहिलो चरणमा कीर्तिपुरबाट यो प्रक्रिया थालनी गरेको हो। सूचना अटेर गरी हट्न नमान्नेहरूको हकमा अन्य विकल्प वा व्यवस्थापनबारे थप छलफल गरिने समितिले जनाएको छ। राहत वितरण र वास्तविक सुकुम्बासी पहिचानका लागि समितिले अहिले ३ देखि ४ वटा विशेष टोली परिचालन गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री