
सन् २००२ को डेब्यु विश्वकपमा क्वार्टरफाइनलसम्म पुगेर तहल्का मच्चाएको सेनेगल यस पटक चौथो सहभागितामा त्योभन्दा अघि बढ्ने लक्ष्यसहित मैदान उत्रिएको थियो। तर, सुरुवाती दुई खेलमा कुनै अंक जोड्न नसकेपछि टोली पहिलो चरणबाटै बाहिरिने गम्भीर खतरामा परेको छ। नकआउट चरणको सम्भावना जीवित राख्न सेनेगलले शुक्रबार हुने अन्तिम समूह खेलमा इराकलाई हराउनै पर्ने दबाब छ।
विश्वकपको मैदानमा बिग्रिएको प्रदर्शन मात्र होइन, खेलबाहिर क्याम्पभित्र देखिएका अनेकौँ आन्तरिक विवादले सेनेगलको यात्रालाई ओझेलमा पारेको छ। खेलाडी र प्रशिक्षकहरू मोरक्कोमा भएको सन् २०२५ को अफ्रिका कप अफ नेसन्सको जस्तो सुविधासम्पन्न होटल नपाएकोमा भन्दा पनि अन्य व्यवस्थापकीय कमजोरीका कारण असन्तुष्ट बनेका छन्।
क्याम्पभित्रको आन्तरिक विवाद र असन्तुष्टि
सुरुवाती खेलअघि बोनस र भुक्तानीको विवाद, अन्तिम समयमा भान्से (सेफ) को परिवर्तन र खानाको गुणस्तरलाई लिएर भएका गुनासाहरू मुख्य चर्चाको विषय बने। लामो समयदेखि टोलीसँगै रहेका मुख्य भान्से व्यक्तिगत कारणले घर फर्किएपछि नयाँ भान्से ल्याइएको थियो। खानालाई लिएर खेलाडीहरू भन्दा पनि टोलीसँगै होटलमा बसेका फुटबल महासङ्घका अन्य पदाधिकारी र तिनका परिवारले असन्तुष्टि जनाउँदै बाहिरबाट खाना मगाउने गरेका छन्।
यसबाहेक, सरकारीस्तरबाट पाउनुपर्ने खेलाडी र स्टाफको बाँकी बोनस खेल सुरु हुनुभन्दा केही दिन अघि मात्र भुक्तान गरिएको थियो। प्रशिक्षक पापे थियाउको सम्झौतालाई लिएर चर्किएको विवादले मैदानभित्रको प्रदर्शनमा समेत असर पारेको छ।
फ्रान्ससँग ३–१ र नर्वेसँग ३–२ ले पराजित भएपछि दबाबमा परेका प्रशिक्षक थियाउले क्याम्पभित्र केही समस्या भए पनि टोलीको ध्यान खेलमै केन्द्रित रहेको बताएका छन्। पूर्वफरवार्ड एल हाड्जी दिउफले भने यस्तो महत्त्वपूर्ण प्रतियोगिताका बेला खेलाडीहरूलाई यस्ता बाहिरी होहल्ला र विवाद आवश्यक नभएको भन्दै चिन्ता व्यक्त गरे।
“सेनेगललाई विश्वकप जिताउन सक्छु भन्ने मेरो विश्वासमा एक सेकेन्ड मात्र पनि शङ्का उत्पन्न भए म पद छोड्नेछु,” विश्वकपको पूर्वसन्ध्यामा प्रशिक्षक पापे थियाउले भनेका थिए। सन् २००२ को विश्वकप खेलेका पूर्वखेलाडी थियाउले गत जनवरीमा टोलीलाई अफ्रिका कप अफ नेसन्सको फाइनलसम्म पुर्याएका थिए। तर, बाहिर देखिए जस्तो थियाउ र सेनेगल फुटबल महासङ्घबीचको सम्बन्ध सहज भने छैन।
सन् २०२४ मा कार्यभार सम्हाल्दा थियाउले प्रस्ताव गरिएको वार्षिक २ लाख १० हजार पाउन्ड तलब स्वीकार गरेका थिए। तर, अफ्रिका कपको उत्कृष्ट प्रदर्शनपछि उनको बार्गेनिङ पावर बढ्यो। पुरानो सम्झौता सकिएपछि नयाँ सम्झौताका लागि भएका वार्ताहरू लामो समयसम्म लम्बिए।
सेनेगलमा प्रशिक्षकले महासङ्घसँग वार्ता गर्ने भए पनि खेलकुद र अर्थ मन्त्रालयमार्फत सरकारले सम्झौता र भुक्तानी स्वीकृत गर्नुपर्ने कानुनी व्यवस्था छ। महिनाौको ढिलाइपछि थियाउ नयाँ सम्झौतामा हस्ताक्षर नै नगरी विश्वकपका लागि अमेरिका उडेका थिए। सेनेगलमा सरकार विघटन र प्रधानमन्त्री पदमुक्त भई राजनीतिक उथलपुथल चलिरहेकाले यसको प्रत्यक्ष असर खेलकुद क्षेत्रमा पनि देखियो।
राष्ट्रपति र खेलकुद मन्त्रीको हस्तक्षेप
सञ्चारमाध्यममा थियाउले अमेरिका जाने विमानमा नचढ्ने चेतावनी दिएपछि दबाब बढेर सेनेगलका राष्ट्रपति बासिरौ डियोमाये फायेले आफैँ अग्रसरता लिए। उनले थियाउलाई सिधै सम्पर्क गरी समस्या छिट्टै समाधान हुने आश्वासन दिएका थिए। नयाँ खेलकुद मन्त्री जिरे क्लोटिल्ड कोलीले पदभार ग्रहण गरेलगत्तै फ्रान्सविरुद्धको पहिलो खेल हेर्न र थियाउलाई आश्वस्त पार्न अमेरिका पुगिन्।
लामो रस्साकस्सीपछि अन्ततः वार्षिक ४ लाख ८० हजार पाउन्ड तलब र थप ८० हजार पाउन्ड वार्षिक बोनस दिने गरी सम्झौता नवीकरण भयो। आइतबार आयोजित पत्रकार सम्मेलनमा थियाउले सम्झौता हुन धेरै समय लागे पनि यो पैसाको नभएर सिद्धान्त र सम्मानको लडाइँ भएको बताए। उनले सेनेगाली नागरिकका लागि देशप्रेम सबैभन्दा माथि हुने भन्दै सम्झौता भइसकेकाले अब विवाद समाप्त भएको स्पष्ट पारे।
आइतबार क्याम्पभित्रको समस्याबारे सोधिएको प्रश्नमा प्रशिक्षक पापे थियाउले टोलीभित्र केही असमझदारीहरू सच्याउनुपर्ने अवस्था रहेको स्वीकार गरे। उनीसँगै पत्रकार सम्मेलनमा उपस्थित गोलरक्षक मोरी दियाउले भने ती सबै आन्तरिक समस्याहरू समाधान भइसकेको दाबी गरे। दियाउले आफूहरू व्यावसायिक खेलाडी भएको र देशको प्रतिनिधित्व गर्न यहाँ आएकाले साझा लक्ष्यबाट ध्यान नभत्किने स्पष्ट पारे।
विगत एक दशकभन्दा लामो समयदेखि सेनेगल टोलीको रिपोर्टिङ गरिरहेका क्यानल प्लसका पत्रकार बाबाकार दियाराले सेनेगल लामो समयपछि यस्तो परिस्थितिमा फसेको बताए। विगतमा पनि बोनसका विवाद हुने गरे पनि यसरी सञ्चारमाध्यममा नआउने गरेको उनले उल्लेख गरे। अफ्रिका कपको फाइनल पुग्दा सबै कुरा राम्रो देखिए पनि भित्रभित्रै केही भद्रगोल रहेको स्मरण गर्दै उनले यस विवादले खेलाडीहरूको खेलमा भने असर नगर्ने विश्वास व्यक्त गरे।
होटल अगाडि टिकटको माग गर्दै प्रदर्शन
सेनेगलमा हरेक ठूला प्रतियोगितामा समर्थक समूहको यातायात, बसोबास र टिकटको खर्च सरकारले बेहोर्ने परम्परा छ। तर यस पटकको विश्वकपमा विभिन्न प्रतिबन्धका कारण सेनेगलबाटै समर्थकहरू अमेरिका आउन पाएनन्। यस्तो अवस्थामा अमेरिका र क्यानडामा रहेका प्रवासी सेनेगालीहरूले आफूहरूले खेल हेर्न पाउने आशा गरेका थिए।
तर उनीहरूका लागि केवल ४ सय वटा टिकट मात्र उपलब्ध गराइयो। टिकट वितरण पारदर्शी नभएको र सङ्ख्या निकै कम भएको भन्दै अधिकांश समर्थकहरू आक्रोशित बनेका छन्। आइतबार सेनेगाली राष्ट्रिय सङ्घका सदस्यहरूले आफ्ना मागहरू राख्दै टोली बसिरहेको होटल अगाडि भेला भएर विरोध प्रदर्शन समेत गरे।बीबीसी









प्रतिक्रिया