
अमेरिकी भुक्तानी प्रणालीमाथिको निर्भरता घटाउँदै आफ्नो आर्थिक सार्वभौमिकता बलियो बनाउन युरोपेली सङ्घ (इयु) ले डिजिटल युरो परियोजना अघि बढाएको छ।
भिसा, मास्टरकार्ड, एप्पल पे र गुगल पेजस्ता अमेरिकी सेवाको विकल्प खडा गर्ने उद्देश्यसहित युरोपेली सांसदहरूले मंगलबार यससम्बन्धी प्रस्तावमा मतदान गर्दैछन्। आफ्नै साझा डिजिटल भुक्तानी प्रणाली नहुँदा समस्या भोगिरहेको निष्कर्ष निकाल्दै युरोपेली केन्द्रीय बैंक (इसिबी) ले सन् २०२० मै यसको अवधारणा ल्याएको थियो।
यस वर्षको अन्त्यसम्म कानुनी प्रक्रिया पूरा भएमा इसिबीले सन् २०२७ को मध्यतिर परीक्षण कार्यक्रम सञ्चालन गर्ने र सन् २०२९ सम्म सर्वसाधारणका लागि डिजिटल युरो उपलब्ध गराउने लक्ष्य राखेको छ। यो प्रणाली लागू गर्न युरोपेली संसद् र सदस्य राष्ट्रहरूको स्वीकृति आवश्यक पर्नेछ। डिजिटल युरो बैंक खाताको सामान्य रकमभन्दा फरक हुने भएकाले प्रयोगकर्ताले बैंक वा हुलाक कार्यालयमार्फत विशेष डिजिटल वालेट खोलेर कार्ड, मोबाइल एप वा अनलाइन प्रणालीबाट सिधै कारोबार गर्न सक्नेछन्।
इसिबीका अनुसार यो प्रणालीले प्रयोगकर्ताको गोपनीयता सुरक्षित गर्नेछ भने यसमा उपलब्ध हुने अफलाइन भुक्तानी सुविधाले नगद कारोबारसरह गोपनीयता प्रदान गर्नेछ। इयुका नीति निर्माताहरूले भुक्तानी प्रणालीलाई आर्थिक शक्तिको साधनका रूपमा व्याख्या गर्दै सांसद गिल्स बोयरले अब आफ्नै सार्वभौम भुक्तानी प्रणाली निर्माण गर्ने समय आएको बताए। युरोपेली अधिकारीहरूले सन् २०२५ मा अमेरिकाले अन्तर्राष्ट्रिय फौजदारी अदालतका न्यायाधीशमाथि प्रतिबन्ध लगाउँदा एक फ्रान्सेली न्यायाधीशले भिसा कार्ड प्रयोग गर्न नसकेको घटनालाई भुक्तानी स्वतन्त्रताको बहसका रूपमा प्रस्तुत गर्ने गरेका छन्।
हाल युरो क्षेत्रका दुई तिहाइ कार्ड भुक्तानी गैर-युरोपेली कम्पनीमार्फत हुने गरेको र २१ मध्ये १३ युरोजोन देशमा आफ्नै राष्ट्रिय कार्ड प्रणाली छैन। तर, डिजिटल युरो योजनाप्रति युरोपेली बैंकहरू भने वित्तीय स्थिरतामा असर पर्न सक्ने भन्दै सशङ्कित छन्। युरोपेली बैंकिङ महासङ्घले यसका लागि करिब १८ अर्ब युरो खर्च लाग्ने अनुमान गरे पनि इसिबीले भने वास्तविक लागत ४ अर्ब देखि ५ अर्ब ८० करोड युरोबीच रहने दाबी गरेको छ।









प्रतिक्रिया