
सेयर बजारमा मंगलबार दोहोरो अङ्कको गिरावट आएको छ। नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घटेर २ हजार ६ सय ७४ दशमलव ४८ विन्दुमा झरेको हो।नसेन्सेटिभ इण्डेक्स २ दशमलव ३१, फ्लोट इण्डेक्स १ दशमलव ६३ र सेन्सेटिभ फ्लोट इण्डेक्स ० दशमलव ८९ अङ्कले घटेको छ।
नेप्सेसँगै कारोबार रकममा पनि केही कमी आएको छ। सोमबार ४ अर्ब ४४ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा मंगलबार ३ सय ५३ कम्पनीको ७२ हजार ८ सय ५४ पटकको कारोबारमा ४ अर्ब ३६ करोड २१ लाख ९४ हजार रुपैयाँबराबरको १ करोड ४० हजार कित्ता सेयर किनबेच भएको छ।
बजार घटे पनि टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बालिङ्ग हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। अन्य कम्पनीको मूल्य वृद्धिदर भने ६ प्रतिशतभन्दा कम रह्यो। यता बुंगल हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १५ प्रतिशत र एपोलो हाइड्रोपावरको ११ प्रतिशतभन्दा बढीले घटेको छ। कारोबार रकमका आधारमा ३४ करोड १६ लाख रुपैयाँसहित आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहँदा सोपान फर्मास्यूटिकल्सको १९ करोड र रिलायन्स स्पिनिङ्ग मिल्सको १७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
मंगलबार कारोबारमा आएका १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहको परिसूचक मात्र सामान्य अङ्कले बढेको छ भने बाँकी १२ उपसमूहको परिसूचक घटेको छ। उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १ दशमलव ९२ प्रतिशतले ओरालो लागेको छ। त्यस्तै वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले घटेको छ।









प्रतिक्रिया