
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहबाटै नापी तथा मालपोत सेवा प्रवाह गर्ने अभियानलाई तीव्र रूपमा विस्तार गरेको छ । मन्त्रालयले यसै अभियान अन्तर्गत शुक्रबारदेखि थप तीनवटा स्थानीय तहमा नयाँ सेवा सञ्चालनमा ल्याएको हो ।
अब झापाको शिवसताक्षी नगरपालिका, उदयपुरको चौदण्डीगढी नगरपालिका र काभ्रेको भुम्लु गाउँपालिकाबाटै मालपोत सेवा सुरु भएको छ । यसअघि काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाबाट यो सेवाको औपचारिक सुरुआत भइसकेको थियो ।
नयाँ विस्तारसँगै हालसम्म देशका चारवटा स्थानीय तहबाट स्थानीयस्तरमै जग्गा प्रशासनसम्बन्धी सेवा प्रवाह हुन थालेको छ । कागेश्वरी मनोहरा नगरपालिकाले सेवा सञ्चालनको पहिलो दिन लालपुर्जा वितरण गर्दै सेवा हस्तान्तरणको औपचारिक सुरुआत गरेको थियो ।
देशभरका इच्छुक पालिकाहरूमा चरणबद्ध रूपमा नापी तथा मालपोत सेवा हस्तान्तरण गर्ने मन्त्रालयको योजना छ । यसअघि मन्त्रालयको आह्वानमा देशभरका २ सय ७ वटा स्थानीय तहले यो सेवा सञ्चालन गर्न इच्छा देखाउँदै आवेदन दिएका थिए ।
स्थानीय तहबाटै सेवा उपलब्ध हुन थालेपछि नागरिकले जग्गासम्बन्धी कामका लागि जिल्ला सदरमुकामस्थित मालपोत तथा नापी कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ । यसबाट सेवाग्राहीको समय, खर्च र झन्झट घट्नुका साथै सेवा प्रवाह थप छिटो, सहज र प्रभावकारी बन्ने विश्वास लिइएको छ ।
मन्त्रालयले आवश्यक प्राविधिक पूर्वाधार, जनशक्ति व्यवस्थापन तथा कर्मचारी तालिमको व्यवस्थापन गरिरहेको छ । आगामी दिनमा आवेदन दिएका अन्य स्थानीय तहमा समेत नापी तथा मालपोत सेवा विस्तार गर्दै लैजाने मन्त्रालयको तयारी छ ।










प्रतिक्रिया