सार्वजनिक यातायात सुरक्षित बनाउन ३३ सय सवारीसाधनमा क्यामेरा र जिपिएस जडान

काठमाडौँ उपत्यकाको सार्वजनिक यातायातलाई सुरक्षित र यात्रुमैत्री बनाउन प्रविधिको प्रयोगलाई तीव्रता दिइएको छ।

Advertisement

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार हालसम्म ३ हजार ३ सय ३ वटा सार्वजनिक सवारीसाधनमा ड्यासक्यामेरा, सिसीक्यामेरा र जिपिएस प्रणाली जडान भइसकेको छ।

यात्रु सुरक्षा र निगरानी प्रभावकारी बनाउन यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीले अनिवार्य जडानको व्यवस्थासहित नियमित अनुगमन सुरु गरेपछि व्यवसायीहरूले यसलाई प्राथमिकता दिएका हुन्।

सार्वजनिक सवारीमा हुने दुर्व्यवहार, बढी भाडा असुली र सवारीको अवस्था निगरानीका लागि यो प्रणाली प्रभावकारी हुने कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले बताए।

विशेषगरी दुर्घटना हुँदा ठूला सवारीको मात्र दोष देखिने प्रवृत्तिको अन्त्य गर्न र बिमा दुरुपयोग रोक्न ड्यासक्यामेराले सहयोग पुर्‍याउने उनले जानकारी दिए। जिपिएस प्रणालीमार्फत सवारीधनीले आफ्नो गाडीको लोकेसन सजिलै थाहा पाउने र भित्रका गतिविधिको अभिलेख रहने हुँदा विवाद समाधानमा सहज हुनेछ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका केन्द्रीय अध्यक्ष सरोज सिटौलाले प्रविधि जडान कार्य सकारात्मक भएको भन्दै सरकारले स्पष्ट कार्यविधि ल्याए सबै सवारीमा जडान गर्न तयार रहेको बताए।

यातायात क्षेत्रलाई पारदर्शी र उत्तरदायी बनाउन व्यवसायीहरू प्रतिबद्ध देखिएका छन्। आगामी दिनमा उपत्यकाका सबै सार्वजनिक सवारीमा यो प्रणाली अनिवार्य गराउने योजना रहेको कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री