
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार १.४६ अंकले घटेर २ हजार ७ सय दशमलव ६५ विन्दुमा झरेको छ। त्यस्तै सेन्सेटिभ इण्डेक्स ०.१७ अंकले घटेको छ भने फ्लोट इण्डेक्स स्थिर रहेको छ।
नेप्सेसँगै कारोबार रकममा पनि केही कमी आएको देखिन्छ। बजारमा ३ सय ५३ कम्पनीको ९० हजार ८ सय ६२ पटकको कारोबारमा ४ अर्ब ४४ करोड ६५ लाख रुपैयाँबराबरको ८१ लाख ३८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
बजार घटे पनि गत शुक्रबार नेप्सेमा सूचीकृत भई सोमबारदेखि कारोबारमा आएका दुई कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बालिङ्ग हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढेर सर्किट लागेको हो।
त्यस्तै सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य करिब साढे ७ प्रतिशत र सोपान फर्मास्यूटिकल्सको साढे ५ प्रतिशतले बढेको छ। सेयरमूल्य घट्ने कम्पनीहरूको गिरावट दर भने ४ प्रतिशतभन्दा कमै सीमित रहेको छ।
कारोबार रकमका आधारमा सोपान फर्मास्यूटिकल्स शीर्ष स्थानमा रहन सफल भएको छ। सो कम्पनीको ३७ करोड ४४ लाख ५६ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ।
त्यसैगरी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको साढे ३० करोड रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ। बजारका १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी १० उपसमूहको परिसूचक घटेको छ।









प्रतिक्रिया