
गत शुक्रबार सामान्य अंकले बढेर बन्द भएको सेयर बजारमा साताको पहिलो कारोबार दिन सोमबार भने गिरावट देखिएको छ। नेप्से परिसूचक १.४६ अंकले घटेर २ हजार ७ सय दशमलव ६५ विन्दुमा झरेको छ।
सेन्सेटिभ इण्डेक्स पनि ०.१७ अंकले ओरालो लागेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्समा ०.१० अंकको सामान्य सुधार देखिएको छ। यस दिन फ्लोट इण्डेक्स भने पूर्ण रूपमा स्थिर रह्यो।
कारोबार रकममा पनि संकुचन
नेप्से परिसूचकसँगै सोमबार बजारमा कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। गत शुक्रबार ४ अर्ब ५३ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो।
सोमबार भने ३ सय ५३ कम्पनीको ९० हजार ८ सय ६२ पटकको कारोबारमा ४ अर्ब ४४ करोड ६५ लाख २० हजार रुपैयाँ बराबरको ८१ लाख ३८ हजार कित्ता सेयर खरिदबिक्री भयो।
दुई नयाँ हाइड्रोपावरमा सकारात्मक सर्किट
गत शुक्रबार मात्रै नेप्सेमा सूचीकृत भएका टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बालिङ्ग हाइड्रोपावरको सेयर मूल्यमा सोमबार सकारात्मक सर्किट लागेको छ। यी दुवै कम्पनीले पहिलो कारोबार दिनमै उत्साहजनक व्यापार गरे।
त्यस्तै सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य करिब साढे ७ प्रतिशत र सोपान फर्मास्यूटिकल्सको साढे ५ प्रतिशतले बढेको छ। मूल्य घट्ने स्टकहरूको गिरावट दर भने ४ प्रतिशतभन्दा कममै सीमित रह्यो।
सोपान फर्मास्यूटिकल्सको सर्वाधिक कारोबार
कारोबार रकमका आधारमा सोपान फर्मास्यूटिकल्स अग्रस्थानमा रहन सफल भयो। सो कम्पनीको ३७ करोड ४४ लाख ५६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार पनि साढे ३० करोड रुपैयाँ नाघेको छ। त्यस्तै करिब २९ करोड रुपैयाँ बराबरको ‘१०.२५ प्रतिशत एनबिबिएल डिबेञ्चर २०८५’ को खरिदबिक्री भएको छ।
उपसमूहगत अवस्था
१३ उपसमूहमध्ये सोमबार ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी १० उपसमूहको परिसूचकमा गिरावट आएको छ। वित्त उपसमूहको परिसूचक सर्वाधिक १.०१ प्रतिशतले बढेको छ।
अंकका आधारमा हेर्दा जीवन बीमा उपसमूहको परिसूचकमा सबैभन्दा बढी गिरावट देखियो। सो उपसमूहको परिसूचक ५६.२१ अंकले घटेको छ।









प्रतिक्रिया