स्वस्थ्य मन्त्रालयले भन्यो-रेविज खोप अभाव छैन

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिजविरुद्धको खोपको अभाव नरहेको जानकारी दिएको छ। आकस्मिक उपचारका लागि आवश्यक खोप सबै अस्पतालमा उपलब्ध रहेको मन्त्रालयले प्रस्ट पारेको छ।

Advertisement

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सरकारसँग पर्याप्त खोपको भण्डार नभए पनि आकस्मिक अवस्थाका बिरामीका लागि भने अभाव नरहेको बताए। थप खोपको व्यवस्था गर्नका लागि नयाँ टेन्डर आह्वान भइसकेको उनले जानकारी दिए।

पाँच हजार भाइल खोप ल्याउनका लागि टेन्डर प्रक्रिया अघि बढेको छ। यसअघि माघ, चैत र जेठमा टेन्डर प्रक्रिया अघि बढाए पनि खोप आपूर्ति हुन सकेको थिएन।

विश्व स्वास्थ्य सङ्गठनले दुई–तीन दिनभित्र चार हजार ५ सय भाइल खोप उपलब्ध गराउने आश्वासन दिएको छ। यसअघि पनि सङ्गठनले आकस्मिक प्रयोगका लागि पाँच हजार भाइल खोप सहयोग गरेको थियो।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बाँस्तोलाले अस्पतालमा खोपको अभाव नरहेको बताए। दैनिक १८० जना बिरामीले अस्पतालमा खोप सेवा लिइरहेको उनले जानकारी दिए।

अस्पतालका मेडिकल अभिलेख शाखा प्रमुख समीरकुमार अधिकारीका अनुसार चालू आर्थिक वर्षमा ५५ हजार ७ सय ५९ जनाले खोप लगाएका छन्। गत आर्थिक वर्ष २०८०/८१ मा ६३ हजार ८ सय १५ जना र आर्थिक वर्ष २०८१/८२ मा ४७ हजार ५ सय ८६ जनाले खोप सेवा लिएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री