
यशोधा फुड्स प्रा.लिले बजारमा भेटिएको एउटा निश्चित ब्याचबाहेक आफ्ना अन्य सबै ब्याचका ‘करेन्ट चाउचाउ’ पूर्ण रूपमा खान योग्य रहेको स्पष्ट पारेको छ।
कम्पनीले एक सूचना जारी गर्दै गुणस्तरहीन प्रमाणित भएको ब्याच बाहेकका अन्य उत्पादन उपभोग गर्न कुनै समस्या नरहेको जनाएको हो।
कम्पनीका अनुसार ‘करेन्ट हट एण्ड स्पाईसी’ १ सय ग्रामको उत्पादन मिति तथा ब्याच नम्बर २०२६/०२/२३-०४ए को चाउचाउमा मात्र कैफियत देखिएको हो। त्यसबाहेक अन्य विभिन्न मितिमा उत्पादित ब्याच नम्बर ०४ए वा सोभन्दा फरक ब्याच नम्बर भएका सम्पूर्ण उत्पादनहरू उपभोक्ताले निर्वाध रूपमा उपभोग गर्न सक्ने कम्पनीले उल्लेख गरेको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जारी गरेको सूचनालाई मध्यनजर गर्दै कम्पनीले कैफियत देखिएको उक्त ब्याचका सामानहरू बजारबाट फिर्ता लिने प्रक्रिया अघि बढाएको छ। सो एउटा ब्याचबाहेक बजारमा उपलब्ध अन्य सम्पूर्ण उत्पादनहरू गुणस्तरीय र मापदण्ड अनुकूल नै रहेका छन्।
यशोधा फुड्सले उक्त निश्चित ब्याचबाहेकका अन्य उत्पादनहरू ढुक्क भएर उपभोग, बिक्री वितरण तथा भण्डारण गर्न उपभोक्ता, खुद्रा बिक्रेता र अधिकृत बिक्रेताहरूलाई आग्रह गरेको छ। कम्पनीले आफ्ना उत्पादनहरूको गुणस्तरप्रति प्रतिबद्ध रहेको समेत सूचनामार्फत स्पष्ट पारेको छ।








प्रतिक्रिया