
आर्थिक वर्ष २०८२/८३ को दश महिनामा नेपालको धितोपत्र बजारमा उत्साहजनक सुधार देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार २०८२ वैशाख मसान्तमा २६२०.२७ बिन्दुमा रहेको नेप्से सूचकाङ्क २०८३ वैशाख मसान्तमा बढेर २७३०.१८ पुगेको छ।
यस अवधिमा बजार पुँजीकरण पनि ४३ खर्ब ५८ अर्ब ७१ करोडबाट बढेर ४६ खर्ब ५६ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ। कुल गार्हस्थ्य उत्पादनमा बजार पुँजीकरणको हिस्सा ७०.३० प्रतिशतबाट वृद्धि भई ७०.५५ प्रतिशत पुगेको केन्द्रीय बैंकले जनाएको छ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २७१ बाट विस्तार भएर २९४ पुगेको छ। यसरी सूचीकृत भएका कम्पनीमध्ये बैंक, वित्तीय संस्था र बीमा कम्पनी १३३, जलविद्युत् कम्पनी १०३ तथा उत्पादन र प्रशोधन उद्योग २८ वटा रहेका छन्।
त्यस्तै होटल ९, लगानी कम्पनी ७, व्यापारिक संस्था ४ र अन्य समूहका १० वटा कम्पनी बजारमा सूचीकृत छन्। बजार पुँजीकरणमा सबैभन्दा बढी ५०.७ प्रतिशत हिस्सा बैंक, वित्तीय संस्था र बीमा कम्पनीले ओगटेका छन्।
सेयर बजारको कुल पुँजीकरणमा जलविद्युत् क्षेत्रको हिस्सा १७.५ प्रतिशत र उत्पादन तथा प्रशोधन उद्योगको ८.८ प्रतिशत रहेको छ। लगानी कम्पनीको ६.९ प्रतिशत, व्यापारिक संस्थाको ४.६ प्रतिशत, होटलको ३.३ प्रतिशत र अन्य समूहको हिस्सा ८.३ प्रतिशत पुगेको छ।
समीक्षा अवधिमा साधारण शेयर, बोनस शेयर, हकप्रद शेयर, म्युचुअल फण्ड, डिबेन्चर र एफपीओसहित ठूलो परिमाणमा धितोपत्र दर्ता भएका छन्। धितोपत्र बजारमा १ खर्ब ३६ अर्ब ३० करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएको तथ्याङ्कले देखाएको छ।
यसै अवधिमा नेपाल धितोपत्र बोर्डले ४१ अर्ब ५३ करोड रुपैयाँ बराबरको विभिन्न धितोपत्रलाई सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ। नयाँ अनुमति र थप सूचीकरणले बजारमा लगानीको दायरा र आकर्षण दुवै बढाएको देखिन्छ।
धितोपत्र बजारमा सूचीकृत कम्पनी र लगानी गतिविधि दुवै समानान्तर रूपमा बढ्दै गएको राष्ट्र बैंकको प्रतिवेदनले स्पष्ट पारेको छ।








प्रतिक्रिया