हङकङलाई हराउँदै नेपाल बन्यो च्याम्पियन, कुशल र शेर मल्ल चम्किए

एसियन गेम्स मेन्स क्वालिफायर क्रिकेट प्रतियोगिताको उपाधि नेपालले चुमेको छ। सिंगापुरस्थित सिंगा ओभल मैदानमा भएको फाइनल खेलमा हङकङलाई डीएलएस मेथडका आधारमा १९ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो।

प्रतियोगिताभरि नै आफ्नो दबाब कायम राखेको नेपाल अपराजित रहँदै उपाधि जित्न सफल रह्यो। वर्षाले खेल प्रभावित हुनुअघि हङकङले दिएको १ सय ८९ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालले ११ ओभर ३ बलमा २ विकेट गुमाएर १ सय १४ रन जोडेको थियो।

कुशल र रोहितको उत्कृष्ट ब्याटिङ

Advertisement

नेपालको जितमा प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेलले आक्रामक अर्धशतकीय इनिङ खेले। उनले ४० बलको सामना गर्दै ८ चौका र ३ छक्काको मद्दतमा ६५ रनको योगदान दिए।

कप्तान रोहित पौडेलले २४ बलमा ३५ रन जोड्दै खेललाई नेपालको पकडमा राखिरहेका बेला वर्षा सुरु भएको थियो। हङकङका आयुष शुक्ला र मोहम्मद घजानफारले नेपालको १–१ विकेट चट्काए।

शेर मल्लको कसिलो बलिङ

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८८ रनको बलियो योगफल तयार पारेको थियो। उसका लागि अंशुमान रथले सर्वाधिक ८० रन तथा शाहिद वसिफले ५५ रन बनाए।

हङकङलाई मध्यम स्कोरमा रोक्न नेपालका शेर मल्लले घातक बलिङ गर्दै ४ विकेट लिए। करण केसीले २ तथा सन्दीप लामिछानेले १ विकेट हात पारे।

जापान यात्रा सुरक्षित

Advertisement

यो प्रतियोगिताको शीर्ष स्थान हासिल गरेसँगै नेपाल एसियन गेम्सका लागि आधिकारिक रूपमा छनोट भइसकेको छ। समूह ‘ए’ बाट नेपाल र मलेसिया तथा समूह ‘बी’ बाट हङकङ र ओमानले आगामी प्रतियोगितामा स्थान बनाएका छन्।

क्रिकेटको यो महाकुम्भ आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म जापानमा आयोजना हुँदैछ। उपत्यकामा क्रिकेट प्रेमीहरूले नेपालको यो ऐतिहासिक जितको खुसीयाली मनाइरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री