
ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच ग्राहकलाई सामान खरिद गर्दा शून्य प्रतिशत ब्याजदरमा अन–द–फ्लाई ईएमआई सुविधा दिने सम्झौता भएको छ ।
डिजिटल भुक्तानी प्रवर्द्धन गर्ने उद्देश्यले भएको यो सहकार्यपछि बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले भाटभटेनीका सम्पूर्ण स्टोरबाट न्यूनतम १५ हजार रुपैयाँको सामान किन्दा तत्कालै किस्ताबन्दी सुविधा पाउनेछन् ।
यस योजनामा ग्राहकलाई कुनै पनि ब्याज वा प्रोसेसिङ शुल्क नलाग्ने बैंकले जनाएको छ । ग्राहकले आफ्नो अनुकूलता अनुसार ३ महिनादेखि १८ महिनासम्मको अवधि छानेर रकम भुक्तानी गर्न सक्नेछन् ।
भाटभटेनीमा नियमित खरिद गर्ने ग्राहकका लागि कारोबार इतिहास र आर्थिक व्यवहारका आधारमा विशेष ग्लोबल बिबिएसएम क्लब क्रेडिट कार्ड जारी गरिने भएको छ । पछिल्लो ३ महिनाको कारोबार इतिहासका आधारमा ग्राहकले १ लाख ५० हजार रुपैयाँदेखि ३ लाख रुपैयाँसम्मको क्रेडिट सीमा भएको कार्ड पाउनेछन् ।
यो कार्ड सुरुवाती चरणमा बिबिएसएम तथा यसकै नेटवर्कमा मात्र प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको छ । कार्डमार्फत् ग्राहकले सहज भुक्तानी, विशेष अफर, छुट तथा भविष्यमा सञ्चालन हुने विभिन्न योजनाको लाभ लिन सक्नेछन् ।
यो योजनामा आईएमएस सफ्टवेयर प्रा.लि.ले प्राविधिक साझेदारको रुपमा सहकार्य गरेको छ । आगामी दिनमा दुवै संस्थाले संयुक्त रुपमा विभिन्न आकर्षक छुट, क्यासब्याक र रिवार्ड योजनाहरू सञ्चालन गर्ने लक्ष्य राखेका छन् ।
ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३ सय ४४ शाखा, ३ सय ६८ एटिएम, १ सय ४७ शाखारहित बैंकिङ र ६९ एक्सटेन्सन काउन्टरसहित १ हजारभन्दा बढी सेवा केन्द्रबाट सेवा दिँदै आएको छ ।








प्रतिक्रिया