
सेयर बजारमा साताको पहिलो कारोबार दिन गिरावट आएको छ। पछिल्ला दुई कारोबार दिनदेखि घटिरहेको नेप्सेले सोमबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
नेप्से परिसूचक २० दशमलव २७ अंकले घटेर २ हजार ७ सय ३५ दशमलव १४ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स २ दशमलव ६२ अंक, फ्लोट इण्डेक्स १ दशमलव २४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स शून्य दशमलव ८९ अंकले ओरालो लागेका छन्।
कारोबार रकममा पनि मन्दी
नेप्सेसँगै यस दिन कारोबार रकममा पनि गिरावट देखिएको छ। गत शुक्रबार ५ अर्ब ६२ करोड रुपैयाँ बराबरको सेयर खरिद-बिक्री भएको बजारमा सोमबार ३ सय ५६ कम्पनीको ५६ हजार ८ सय ४५ पटकको कारोबारमा ४ अर्ब ८ करोड ४८ लाख ९६ हजार रुपैयाँ बराबरको ९२ लाख ३६ हजार कित्ता सेयर खरिद-बिक्री भएको छ।
कालिञ्चोक हाइड्रोपावरमा सर्किट
घट्दो बजारमा पनि कालिञ्चोक हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको सेयर मूल्य ११३ रुपैयाँ ६० पैसा बढेर अन्तिम कारोबार ८ सय ७१ रुपैयाँ २० पैसामा भएको छ।
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य १३ प्रतिशतभन्दा बढीले वृद्धि हुँदा सोपान फर्मास्यूटिकल्सको मूल्य १० प्रतिशतले बढेको छ। कारोबारमा आएको उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने सर्वाधिक ७ दशमलव १४ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा सेन्ट्रल फाइनान्स शीर्ष स्थानमा रहन सफल भएको छ। उक्त कम्पनीको २० करोड ४६ लाख २९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
लक्ष्मी बैंक डिबेञ्चर २०८८ को १७ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच हुँदा आँखु खोला जलविद्युत कम्पनीको कारोबार रकम साढे १३ करोड रुपैयाँ नाघेको छ।
व्यापार उपसमूह सर्वाधिक घट्यो
कारोबारमा आएका १३ उपसमूहमध्ये वित्त उपसमूहको परिसूचक मात्र सामान्य बढेको छ। बाँकी १२ उपसमूहको परिसूचकमा गिरावट आएको छ।
यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक १ दशमलव ७७ प्रतिशतले ओरालो लागेको छ। विकास बैंक र अन्य उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले घटेको छ।








प्रतिक्रिया