
अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुन लागेको विश्वकप फुटबल प्रतियोगिता सुरु हुन अब एक हप्ता मात्र बाँकी छ । खेलको उद्घाटन आगामी जेठ २९ गते हुने गरी तीव्र तयारी भइरहेको छ ।
सहभागी राष्ट्रहरू आयोजक देश पुग्ने र व्यवस्थापन गर्ने क्रम चलिरहँदा इरानले अमेरिकामाथि विभेदको गम्भीर आरोप लगाएको छ । अमेरिका र इरानबीचको राजनीतिक द्वन्द्वको असर खेलकुदमा देखिएको हो ।
भिसामा विभेद गरेको आरोप
आयोजक राष्ट्र अमेरिकाले इरानी फुटबल टोलीका केही सदस्यहरूलाई प्रवेशआज्ञा नदिएर ‘विभेदपूर्ण व्यवहार’ गरेको इरानको दाबी छ । टर्कीस्थित इरानी दूतावासले अमेरिकी राजदूत टम कराकको भनाइप्रति आपत्ति जनाउँदै प्राविधिक सल्लाहकार र कार्यकारी कर्मचारीलाई भिसा नदिइएको बताएको छ ।
दूतावासले इरानको राष्ट्रिय फुटबल टोलीविरुद्ध जानाजानी र भेदभावपूर्ण व्यवहारलाई उच्च स्तरमा पुर्याइएको उल्लेख गरेको छ । इरानी सञ्चारमाध्यम र खेलकुद अनलाइनहरूले टोलीका प्रमुख मेहदी ताजसहित विश्लेषकहरूलाई भिसा दिन अस्वीकार गरिएको पुष्टि गरेका छन् ।
टोली बस्ने स्थान परिवर्तन
भिसा समस्या र अन्य उल्झनका कारण इरानी टोलीले आफ्नो बस्ने स्थानसमेत परिवर्तन गरेको छ । सुरुमा अमेरिकाको एरिजोनास्थित टक्सनमा बस्ने तय भएकोमा अहिले त्यसलाई मेक्सिकन सीमावर्ती शहर तिजुआनामा सारिएको छ ।
इरानका समूह चरणका सबै तीन खेलहरू संयुक्त राज्य अमेरिकामै हुने कार्यतालिका रहेको छ । टोलीले आगामी असार १ गते न्युजिल्यान्डसँग, असार ७ गते बेल्जियमसँग लस एन्जलसमा र असार १३ गते इजिप्टसँग सियाटलमा प्रतिस्पर्धा गर्नेछ ।एजेन्सी








प्रतिक्रिया