
विद्युत् प्राधिकरणको सहायक कम्पनी मोदी जलविद्युत् कम्पनीले अघि बढाएको ठेक्का प्रक्रियामा गम्भीर अनियमितता भएको भन्दै छानबिनका लागि उजुरी परेको छ।
कम्पनीले सञ्चालन गरेको अपर मोदी ए र अपर मोदी हाइड्रो परियोजनाको ठेक्का स्वीकृत गर्दा अनुभवको नक्कली प्रमाणपत्र प्रयोग गरिएको दाबी उजुरीमा गरिएको छ।
गएको महिना स्वीकृत भएका दुईवटा प्याकेजको टेन्डरमा एचएनएसी–केईएम जेभीले योग्यता पुर्याउन गलत कागजात पेस गरेको आरोप लागेको छ। कम्पनीका प्रबन्ध निर्देशकसँग छानबिनको माग गर्दै दर्ता गरिएको उक्त निवेदनको बोधार्थ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, सार्वजनिक खरिद अनुगमन कार्यालय, प्रधानमन्त्री कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल विद्युत् प्राधिकरणलाई समेत दिइएको छ।
योग्यतामा कैफियत र कागजात फेरबदल
पहिलो प्याकेजको ठेक्का प्रक्रियामा सहभागी हुन पछिल्लो १० वर्षमा कम्तीमा १६ मेगावाट क्षमताको पेल्टोन टर्वाइनको डिजाइन, उत्पादन, सप्लाई, इन्टलेसन, परीक्षण र सञ्चालनको अनुभव हुनुपर्ने तय गरिएको थियो। त्यस्तै, पछिल्लो १० वर्षभित्र इलेक्ट्रोकेमिकल कार्यसँग सम्बन्धित कम्तीमा २३ लाख अमेरिकी डलरको परियोजना सफलतापूर्वक सम्पन्न भएको हुनुपर्ने व्यवस्था गरिएको थियो।
दोस्रो ठेक्काका लागि पछिल्लो १० वर्षमा कम्तीमा ७ मेगावाट क्षमताको फ्रान्सिस टर्वाइनको डिजाइन, उत्पादन, सप्लाई, इन्टलेसन, परीक्षण र सञ्चालनको अनुभव हुनुपर्ने सर्त राखिएको थियो। यसमा पनि जेभीको सन्दर्भमा मुख्य ठेकेदार, व्यवस्थापन ठेकेदार वा सहायक ठेकेदारले पछिल्लो १० वर्षभित्र कम्तीमा २३ लाख अमेरिकी डलरको इलेक्ट्रोकेमिकल परियोजना सफलतापूर्वक सम्पन्न गरेको हुनुपर्ने व्यवस्था थियो।
अस्तित्वमै नभएको कम्पनीको पुरानो प्रमाणपत्र
टेन्डरमा सहभागी हुन डिजाइनकर्ता र उत्पादनकर्ता समेत भएको हुनुपर्ने व्यवस्था रहेकोमा कुमिङ नामक कम्पनीले सेल्स टेन्डर मात्रै गरेको र इन्स्टलेसन र टेस्टिङको कुनै अनुभव नभएको पाइएको छ। सन् २०१० सम्म कुमिङ एउटा कम्पनीको रुपमा रहेको र पछि हार्विन इलेक्ट्रिकल कर्पोरेसनसँग मर्ज भएको देखिएको छ।
सन् २०१७ मा यी दुई कम्पनीहरू फेरि डिमर्ज भएपछि कुमिङ नामक कम्पनी फेरि नयाँ स्वरूपमा सुरु गरिएको थियो। नयाँ स्थापना भएको सो कम्पनीले कानुन विपरीत पुरानो र अस्तित्वमा नरहेको अनुभवको प्रमाणपत्र देखाएर ठेक्का हात पारेको भन्दै स्वतन्त्र परीक्षणको माग गरिएको छ।








प्रतिक्रिया