
नेपालको विद्युत् उत्पादनमा निजी क्षेत्रले १३ खर्ब १० अर्ब रुपैयाँ लगानी गरिसकेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले देशको ऊर्जा क्षेत्रमा निजी क्षेत्रको योगदान ८० प्रतिशत पुगेको बताएका छन् ।
इप्पानले बिहिवार आयोजना गरेको बजेटपछिको समीक्षा कार्यक्रममा उनले हाल नेपालको कुल ४ हजार २ सय मेगावाट विद्युत् जडित क्षमतामध्ये ३ हजार ५ सय मेगावाट निजी क्षेत्रले उत्पादन गरेको जानकारी दिए । निजी क्षेत्रले गरेको कुल लगानीमध्ये बैंक तथा वित्तीय संस्थाको ८ खर्ब ७० अर्ब र निजी क्षेत्रको ४ खर्ब ४० अर्ब रुपैयाँ रहेको छ ।
राजस्वमा वार्षिक २५ अर्बको योगदान, ३ लाखलाई रोजगारी
जलविद्युत् क्षेत्रले हाल ३ लाखभन्दा बढी मानिसलाई रोजगारी दिनुका साथै राज्यलाई वार्षिक २५ अर्बभन्दा बढी राजस्व तिर्दै आएको छ । सरकारले १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखे पनि बजेटमा ठूला आयोजनाको विद्युत् खरिद सम्झौता (पिपीए) बारे स्पष्टता नहुँदा लगानीकर्ता निराश बनेको अध्यक्ष कार्कीले बताए ।
इप्पानले मुख्यगरी जलविद्युत् आयोजनाको अनुमतिपत्र अवधि ५० वर्ष कायम गर्न, निजी क्षेत्रलाई विद्युत् व्यापार र प्रसारण लाइनमा सहभागी गराउन माग गरेको छ । वन तथा वातावरणीय क्षेत्रको झन्झट अन्त्य गरी ‘एकद्वार प्रणाली’ लागू गर्नुपर्ने उनीहरूको भनाइ छ ।
प्रशासनिक झन्झट र बाढी प्रभावितलाई राहतको माग
“विगत ३ वर्षमा हामीले पावर समिट र हाइड्रोएक्स्पो जस्ता सफल कार्यक्रम गर्यौँ, तर नीतिगत तहमा अझै धेरै काम बाँकी छन्,” अध्यक्ष कार्कीले भने । एउटा आयोजनाका लागि ८ मन्त्रालय र २३ विभाग धाउनुपर्ने बाध्यता अन्त्य नभएसम्म ऊर्जा क्षेत्रको द्रुत विकास सम्भव नहुने उनले प्रष्ट पारे ।
इप्पानले बाढी प्रभावित जलविद्युत् आयोजनालाई राहत दिन, आयोजनास्थलमा सुरक्षाको ग्यारेन्टी गर्न र कर छुटका विषयमा सरकारले सहजीकरण गर्नुपर्ने मागसमेत अघि सारेको छ ।








प्रतिक्रिया