शनिबार, ८ वैशाख २०८१

‘एसियन इन्सुरेन्स मिट- २०२३’ काठमाडौँमा सुरु

समयपोष्ट २०८० जेठ २६ गते १५:५०

Advertisement

‘एसियन इन्सुरेन्स मिट-२०२३’ काठमाडौँमा सुरु भएको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले आज उक्त सम्मेलन शुभारम्भ गर्दै बीमा क्षेत्रको पहुँच, विस्तार र सहज सेवा प्रवाहका लागि सबै सरोकारवाला पक्ष जिम्मेवार भएर काम गर्नुपर्ने बताउनुभयो ।

दिगो विकास लक्ष्य प्राप्त गर्न पनि बीमाको पहुँच बढाउन आवश्यक रहेको उल्लेख गर्दै उहाँले बीमा क्षेत्रको नियमनका लागि समन्वय र सहकार्य गरिनुपर्नेमा जोड दिनुभयो । “जोखिम हस्तान्तरण र व्यवस्थापनका लागि बीमा क्षेत्रको नियामक बीमक कम्पनी, पुनर्बीमा कम्पनी, बीमा मध्यस्थकर्तालगायत पक्षहरू उत्तिकै जिम्मेवार हुन्छन् । बीमा क्षेत्रलाई दिगो विकास लक्ष्य प्राप्तिसँग जोड्ने, यस क्षेत्रका नयाँ चुनौती पहिचान गरेर समाधान गर्ने, प्राकृतिक विपद्बाट सिर्जित जोखिमको दायित्व हस्तान्तरण गर्ने, वित्तीय साक्षरता बढाउनेलगायत विषयमा सबै पक्षको भूमिका रहन्छ”, अर्थमन्त्री महतले भन्नुभयो ।

यो सम्मेलनबाट बीमा क्षेत्रका अन्तरराष्ट्रिय अभ्यासबारे जानकारी लिने र विभिन्न देशका नियामक तथा बीमा कम्पनीबीच सम्बन्ध स्थापनाका लागि सहयोगी हुने नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताउनुभयो । जलवायु परिवर्तनका असरले सिर्जना भएका प्राकृतिक विपद्लगायत जोखिमको दायित्व बहन तथा हस्तान्तरणबारे बुझ्न यो सम्मेलन सहयोगी हुने उहाँको भनाइ थियो ।

नेपाल बीमा प्राधिकरणले आयोजना गरेको सम्मेलनमा इन्टरनेसनल एसोसिएसन अफ इन्सुरेन्स सुपरभाइजर्स, एसेस टू इन्सुरेन्स इनिसिएटिभ, एसियाली विकास बैंकलगायत संस्थाहरू सहआयोजक छन् ।

तीन दिनसम्म चल्ने सम्मेलनमा विभिन्न देशका बीमा क्षेत्रका नियामक एवम् सरकारी अधिकारी, बीमा कम्पनीका सञ्चालक तथा व्यवस्थापक, बीमाविज्ञ, मध्यस्थकर्ता कम्पनीका प्रतिनिधि, बीमा क्षेत्रका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको छ । बिहीबार विभिन्न चारवटा विषयगत सत्रमा प्रस्तुति रहेको सम्मेलनमा आज शुक्रबार थप चारवटा सत्र र भोलि शनिबार तीनवटा सत्रसहित समापन गरिने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री