सोमबार, ९ असार २०८२

नेपाल लाइफ इन्स्योरेन्स ‘सिप मेला २०८२’ मा संस्थागत साझेदारी साझेदार

समयपोष्ट २०८२ असार ९ गते १५:२६

Advertisement

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौं महानगरपालिकाद्वारा आयोजित ‘काठमाडौं महानगर सिप मेला २०८२’ मा संस्थागत साझेदारी गरेको छ। कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यो मेलामा सहभागिता जनाएको हो।

‘सिप मेला २०८२’ को मुख्य उद्देश्य सिप नभएकाहरूलाई सिप सिकाउने र आधारभूत सिप भएकाहरूलाई थप दक्ष बनाउनु हो। मेलाले रोजगारी र आय वृद्धिको माध्यमबाट काठमाडौंको समृद्धि हासिल गर्ने लक्ष्य राखेको छ। १० विधामा ३७ पेशासँग सम्बन्धित तालिमहरू पूर्ण रूपमा निःशुल्क प्रदान गरिँदै छन्।

काठमाडौं महानगरपालिकाका प्रतिनिधि देवेन्द्र केसीले भने, “‘रोजगार र आय वृद्धि, काठमाडौँको समृद्धि’ भन्ने नाराका साथ यो मेला तीन वर्षे योजनाअन्तर्गत सञ्चालित छ, जुन राष्ट्रिय गौरवको आयोजना हो। निजी क्षेत्रको सहकार्य, विशेषगरी नेपाल लाइफको सहभागिता, प्रशंसनीय छ।”

नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले मेलामा सहभागी हुन पाउँदा खुसी व्यक्त गरे। उनले भने, “सिप मेला २०८२ को प्रस्ताव आएपछि हामीले यसलाई युवालाई सशक्त बनाउने र स्वरोजगारको बाटो देखाउने अवसरका रूपमा लियौं। यो मेलाले ३० भन्दा बढी तालिममार्फत युवा जनशक्तिको माग र आपूर्तिको सन्तुलन कायम गर्न सहयोग पुर्‍याउँछ।”

Advertisement

उनले थपे, “यो मेला केवल कार्यक्रम होइन, सामाजिक परिवर्तनको अभियान हो। यसले युवाहरूलाई सिप, अवसर, हौसला र संरचना प्रदान गर्छ, जसले उनीहरूको भविष्य निर्माणमा सहयोग पुर्‍याउँछ।”

सिप मेला विशेष गरी काठमाडौं महानगरका स्थायी वा अस्थायी बासिन्दा, करदाता, ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रका बासिन्दा, बेरोजगार युवा (महिला–पुरुष), र विदेशबाट फर्किएर काम खोज्ने व्यक्तिहरूलाई लक्षित छ। तालिमहरू दैनिक तीन सिफ्टमा सञ्चालन हुन्छन्: बिहान ७–११, दिउँसो ११–३, र साँझ ३–७ बजे। प्रत्येक कक्षामा २५ जना सहभागी हुन्छन्।

एक सहभागीले भने, “यो तालिमले मलाई रोजगारको अवसर प्रदान गर्छ र मेरो भविष्य राम्रो बनाउँछ भन्ने विश्वास छ।”

हाल नेपाल लाइफले देशभरका कार्यालय सञ्जालमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा प्रदान गरिरहेको छ। कम्पनीमा वैदेशिक रोजगारसहित ३० लाखभन्दा बढी बीमित छन्। ग्राहकको हितलाई ध्यानमा राखी समयसापेक्ष थप सेवा र सुविधा उपलब्ध गराउने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री