आइतबार, २२ असार २०८२

नेपाल विद्युत् प्राधिकरण ठेक्का प्रकरण: कुलमानका ससुरा सांसद तामाङविरुद्ध पक्राउ पुर्जी

समयपोष्ट २०८२ असार २१ गते १७:१५


नेपाल विद्युत् प्राधिकरणको ठेक्का विवाद प्रकरणमा बागमती प्रदेशसभा सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता डम्बर तामाङविरुद्ध ललितपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ। तामाङ प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङका काका ससुरा हुन्।

Advertisement

यो विवाद चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइनअन्तर्गतको चिलिमेको २२० केभीए जीआईएस सब-स्टेशन र त्रिशूलीको २२० केभीए हाइब्रिड सब-स्टेशन निर्माणको ठेक्कासँग सम्बन्धित छ। उक्त ठेक्का चिनियाँ कम्पनीले प्राप्त गरेको थियो, जसको सब-कन्ट्रयाक्ट सहन इन्जिनियरिङ कन्सर्न प्रालिले पाएको थियो। तर, प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक घिसिङले दबाब दिएर लेबर कन्ट्राक्ट तामाङको स्वामित्वमा रहेको प्रो-सोलुसन्सलाई दिलाएको आरोप छ।

सहन इन्जिनियरिङ कन्सर्न प्रालिका अध्यक्ष सन्तकुमार गुरुङले दायर गरेको जाहेरीका आधारमा ललितपुर जिल्ला अदालतले तामाङसहित प्रो-सोलुसन्सका संस्थापकहरू सन्तोष पौडेल, सञ्चिता श्रेष्ठ, राजेन्द्र अवस्थी, सरोज शाही र दिनेशकुमार यादवविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।

विवादको मुख्य कारण चिनियाँ कम्पनीले सहन इन्जिनियरिङलाई गर्नुपर्ने भुक्तानी सीधै प्रो-सोलुसन्सलाई दिएको, तर प्रो-सोलुसन्सले सहनलाई रकम नदिएको भन्ने आरोप हो। यो विवाद प्रहरी हुँदै अदालतसम्म पुगेको छ।

डम्बर तामाङ धादिङ २ (ख) बाट निर्वाचित राप्रपा नेता बुद्धिमान तामाङका सहोदर भाइ हुन्। यस प्रकरणले नेपाल विद्युत् प्राधिकरणको ठेक्का प्रक्रियामा पारदर्शिता र निष्पक्षतामाथि प्रश्न उठाएको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री