
पछिल्लो समय देशभरको तापक्रम बढेको छ ।
अत्याधिक गर्मीका कारण तराईंको जनजीवन सबैभन्दा बढि प्रभावित भइरहेको छ। सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ । अत्याधिक तापक्रमबाट स्कूले विद्यार्थी र वृद्धवृद्धाहरु सबैभन्दा बढि प्रभावित भइरहेका छन्। धेरैजसो जिल्लाहरुले विद्यालय केही दिनका लागि बन्द गरिसकेका छन्।
तराईंका जिल्लाहरुमा तापक्रम बढेसँगै स्कुल बन्द हुने क्रम जारी छ । ठाउँ ठाउँका पानीका श्रोतहरु सुक्न थालेका छन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकाका अनुसार नेपालमा अझै केही दिन पानी पर्ने सम्भावना छैन ।
मनसुनी वायु बादल लगाउने र पानी पार्ने वायु हो । यो हाल भारतको दक्षिणी भाग केरला आइपुगेको मौसमविद्को भनाई छ ।
केरला आइपुगेको मनसुनी वायु नेपालमा सरदर १२ दिनपछि आइपुग्छ । तर, कहिलेकाहीँ एक दुई दिन अघि वा पछि पनि हुन सक्छ ।
मौसमविद् रोजन लामिछानेका अनुसार अहिले भारतको केरलाको आकाशमा बादलहरू निर्माण भइरहेको छ । सामान्यतया भारतको केरलामा जुन १ मा मनसुनी वायु देखापर्दा नेपालमा जुन १३ मा मनसुनी वायु भित्रने गर्थ्यो । मनसुन वायु नेपाल कति चाँडै आउँछ भन्ने कुरा वायुको वेगसँग पनि निर्भर रहने उनको भनाइ छ ।
झापाबाट प्रवेश गरेको मनसुन देशैभर फैलन कम्तिमा पाँच दिन लाग्ने मौसमविद् लामिछानेले बताए । भारतको केरला आइपुगेको मनसुनी वायु बङ्गालको खाडीमा पुग्छ । त्यसपछि उत्तरपूर्व हुँदै नेपालको पूर्वी जिल्ला झापाबाट नेपालमा मनसुन भित्रने उनको भनाइ छ ।








प्रतिक्रिया