चिवाभञ्ज्याङ नाका खोल्न सिक्किमको चासो

नेपाल–भारत सीमावर्ती चिवाभञ्ज्याङ नाका खोल्न भारतको सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले चासो देखाउनुभएको छ । मङ्गलबार चिवाभञ्ज्याङको भ्रमण गर्नुभएका उहाँले भारत र नेपाललाई फाइदा पुग्ने गरी सो नाका खोल्न प्रदेश सरकार लागिपरेको बताउनुभयो ।

Advertisement

“चिवाभञ्ज्याङ नाकाबाट कसरी फाइदा लिन सकिन्छ लागिपरेको छु”, मुख्यमन्त्री तामाङले भन्नुभयो, “मैले बारम्बार नीति आयोगको सभामा यो विषय उठाउने गरेको छु ।”

भारतको केन्द्रीय सरकारसित चिवाभञ्ज्याङमा नाका खोल्न छलफल भएको मुख्यमन्त्री तामाङको भनाइ छ । “केन्द्र सरकार यसबारे सकारात्मक छ”, उहाँले भन्नुभयो । चिवाभञ्ज्याङलाई नाकाको विकास गर्ने उद्देश्यले सिक्किम राज्य सरकारले ५६ करोड भारतीय रुपैयाँ खर्चेर उत्तरे बजारदेखि चिवाभञ्ज्याङसम्म २२ किलोमिटर सडक विस्तार गरेको छ ।

नेपालबाट पुष्पलाल (मध्यपहाडी) राजमार्ग दशकअघि नै चिवाभञ्ज्याङसम्म पुगिसकेको छ । उक्त राजमार्गको उद्गम विन्दु पनि चिवाभञ्ज्याङ हो । पाँचथरको याङवरक गाउँपालिका–१ मा पर्ने चिवाभञ्ज्याङ नाका खोल्न याङवरक गाउँपालिकासहित यस क्षेत्रका नागरिकले माग गरिरहेका बेला सिक्किम राज्य सरकारले पनि नाका खोल्न पहल गरेको छ । चिवाभञ्ज्याङसम्म नेपालका तर्फबाट उक्त राजमार्ग कालोपत्र दुई वर्षअघि गर्न थालेपनि निर्माण व्यवसायीको लापर्बाहीले पूरा हुन सकेको छैन ।

वन अतिथिगृहको उद्घाटनका लागि चिवाभञ्ज्याङ पुग्नुभएका मुख्यमन्त्री तामाङले सिक्किमबाट चिवाभञ्ज्याङसम्म विस्तार भएको सडकलाई बहुउद्देश्यीय कोरिडोर बनाउने योजना रहेको बताउनुभयो । चिवाभञ्ज्याङ अन्तर्राष्ट्रिय नाका बनेपछि उक्त सडकलाई दुई लेनको बनाउने उल्लेख गर्दै मुख्यमन्त्री तामाङले आफूहरुसँग सुनौलो मौका रहेको बताउनुभयो ।

Advertisement

“यो नाका खुले भारतसँगै नेपालको ४५ लाख जनसङ्ख्यालाई लाभ पुग्ने छ”, उहाँले भन्नुभयो–“यस विषयमा सङ्घीय सरकारमार्फत नेपाल सरकारसँग संवाद गर्छौँ ।” नेपाल र सिक्किमका बासिन्दाको आउजाउ रहे पनि यो नाकालाई वैधानिकरुपमा खोल्नु आवश्यक रहेको मुख्यमन्त्री तामाङको भनाइ थियो । चिवाभञ्ज्याङलाई सिक्किम र नेपालबीचको द्विपक्षीय सम्पर्कविन्दु बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री