महालक्ष्मी विकास बैंकको वार्षिकोत्सवमा ३१ जना महिला उद्यमीहरुलाई सम्मान
महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो ३१औं वार्षिकोत्सवको अवसरमा २०८२ जेठ ४ गतेदेखि १० गतेसम्म विविध कार्यक्रमहरु गरी उत्सवमय वातावरणमा मनाएको छ। वार्षिकोत्सवको अवसरमा बैंकले महिला उद्यमीहरुको सम्मान, रक्तदान कार्यक्रम, स्थानीय भेषभूषाको प्रहसन, स्वास्थ्य शिविर, प्रभातफेरी लगायत विभिन्न सामाजिक र सशक्तिकरणमूलक कार्यक्रमहरु सञ्चालन गरेको हो।
महिला उद्यमशीलता र सशक्तिकरणमा योगदान पुर्याउने उद्देश्यले देशभरका विभिन्न शाखा कार्यालयमार्फत महिला उद्यमीहरुलाई सम्मान गरिएको बैंकले जनाएको छ। वित्तीय पहुँच, आर्थिक विकास, सामाजिक प्रगति तथा लैंगिक समानताको मूल धारमा ल्याउने लक्ष्यसहित उक्त सम्मान कार्यक्रम आयोजना गरिएको हो। यसबाट उद्यमशीलता प्रवर्द्धनमा समेत सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।
त्यस्तै, बैंकले जेठ ६ गते देशभरका १० शाखा तथा केन्द्रीय कार्यालयमा बृहत रक्तदान कार्यक्रम सञ्चालन गरेको थियो, जसबाट ३२० पिन्ट रगत संकलन गरिएको हो। रक्त व्यवस्थापनको चुनौती समाधानमा सहयोग पुर्याउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रमले ठूलो सामाजिक उत्तरदायित्व निर्वाह गरेको बैंकको भनाइ छ।
जेठ ७ गते बुधबार केन्द्रीय कार्यालय, प्रादेशिक तथा शाखा कार्यालयहरुमा स्थानीय भेषभूषामा सजिएका कर्मचारीहरुमार्फत सम्बन्धित क्षेत्रको सांस्कृतिक विविधता उजागर गरिएको थियो। यसैदिन केन्द्रीय कार्यालयमा निःशुल्क स्वास्थ्य तथा आँखा शिविर सञ्चालन गरिएको थियो।
यसै क्रममा वित्तीय साक्षरता अभिवृद्धिका लागि प्रभातफेरी कार्यक्रम समेत सञ्चालन गरियो, जसमा बैंकिङ सेवा जस्तै मोबाइल बैंकिङ, स्मार्ट क्युआर, निक्षेप, कर्जा तथा विप्रेषण सम्बन्धी जानकारी समेटिएका प्लेकार्डहरु प्रदर्शन गरिएको थियो।
वार्षिक उत्सवको प्रमुख आकर्षणको रुपमा रहेको ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२५’ (श्रृङखला ४) यहि जेठ २१ देखि २४ गतेसम्म आयोजना गरिने छ। यसपटक प्रतियोगितामा विभिन्न संघसंस्थाका २४ टोलीहरुको सहभागिता रहनेछ। विगत तीन वर्षदेखि सफलतापूर्वक सञ्चालन हुँदै आएको यो प्रतियोगिता संस्थागत समन्वय तथा सहकार्य अभिवृद्धिमा समेत योगदान पु¥याउने विश्वास बैंकले लिएको छ।
प्रतिक्रिया