महरा प्रकरणमा जोडिएकी रोशनी शाही आफ्नै डेरामा मृत फेला
तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि बलात्कारको आरोप लगाउँदै कारवाही प्रक्रिया अघि बढाएकी रोशनी शाही मृत फेला परेकी छन्।
शाही सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित वृहस्पति मार्गमा डेरा गरी बस्दै आएकी थिइन्। जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज नेउपानेका अनुसार उनी आफ्नै कोठाभित्र मृत भेटिएको जानकारी दिएका छन्। अहिले घटनास्थलमा प्रहरीको टोली अनुसन्धानका लागि खटिएको छ। उनका श्रीमान् विराटनगरमा रहेको र उनी घटनापछि काठमाडौं आउँदै गरेको बताइएको छ।
रोशनी शाही २०७६ साल असोजमा चर्चामा आएकी थिइन् जब उनले सभामुख कृष्णबहादुर महरामाथि आफूलाई बलात्कार प्रयास गरेको आरोप लगाएकी थिइन्। उनका अनुसार महरा मादक पदार्थ सेवन गरेर उनी बस्दै आएको कोठामा आएर जबरजस्ती गर्न खोजेका थिए। उक्त घटनाले नेपाली राजनीतिमा ठूलो हलचल ल्याएको थियो। सार्वजनिक दवाबपछि महराले सभामुख पदबाट राजीनामा दिएका थिए र त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो।
मुद्दा काठमाडौं जिल्ला अदालतमा पुगेको थियो तर अदालती प्रक्रियाका क्रममा रोशनी शाहीले प्रारम्भिक बयान परिवर्तन गरेकी थिइन्। आरोप परिवर्तन भएसँगै महरामाथिको मुद्दा निर्णायक मोडमा पुगेको थियो र अन्ततः २०७६ फागुनमा जिल्ला अदालत काठमाडौंले उनलाई सफाइ दिएको थियो।
प्रतिक्रिया