आइतबार, ११ जेठ २०८२

हजारौं करदाताको भ्याट दर्ता एकसाथ निलम्बन, कारोबारमा रोक

समयपोष्ट २०८२ जेठ ११ गते १६:३५


लगातार ६ महिनासम्म मूल्य अभिवृद्धि कर (भ्याट) विवरण नबुझाउने हजारौं करदाताको भ्याट दर्ता आन्तरिक राजस्व विभागले एकसाथ निलम्बन गरेको छ। विभागले ९ जेठमा यस्तो निर्णय गरेको हो।

Advertisement

यसअघि, विभागले ११ वैशाखमा सार्वजनिक सूचना जारी गर्दै ६ महिनासम्म विवरण नबुझाउने करदाताहरूको नाम सार्वजनिक गरेको थियो। साथमा १५ दिने अल्टिमेटम दिँदै तोकिएको समयभित्र कारोबार नियमित गर्न आग्रह गरिएको थियो। तर अधिकांश करदाताले तोकिएको समयभित्र पनि विवरण नबुझाएपछि विभागले उनीहरूको भ्याट दर्ता निलम्बन गर्ने निर्णय लिएको हो।

विभागले निलम्बनमा परेका करदाताको नाम आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको छ। साथै, यस्ता करदातासँग कुनै प्रकारको खरिद–बिक्री नगर्न सरोकारवालाहरुलाई स्पष्ट रूपमा सूचित गरिएको छ।

निलम्बनमा परेका करदाताले चाहेमा सम्पूर्ण कर विवरण बुझाई कारोबार नियमित गरेपछि ‘सस्पेन्डेड लिस्ट’ बाट स्वचालित रूपमा हट्न सक्ने व्यवस्था गरिएको विभागले जनाएको छ।

यसबीच, निलम्बन अवधिभर यस्ता करदाताले कुनै पनि प्रकारको निकासी वा पैठारी कारोबार गर्न नपाउने व्यवस्था गरिएको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री