
ओरिएन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (साउन–पुस) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । अघिल्लो वर्ष घाटामा रहेको कम्पनीले यो अवधिमा राम्रो सुधार गर्दै नाफामा फर्किएको छ ।
वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा १९ करोड ७५ लाख रुपैयाँ घाटामा रहेको कम्पनीले समीक्षा अवधिमा १६ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यसले कम्पनीको वित्तीय अवस्थामा उल्लेख्य सुधार आएको देखाउँछ ।
कुल बीमाशुल्क आर्जन १ अर्ब ५ करोड १५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यही अवधिमा यो ८७ करोड ६९ लाख रुपैयाँ थियो, जसमा १९ प्रतिशत को वृद्धि भएको छ ।
खुद बीमाशुल्क आर्जनमा झन् राम्रो प्रगति देखिएको छ । समीक्षा अवधिमा यो ६५ करोड ८३ लाख रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष ४६ करोड ७७ लाख रुपैयाँ रहेकोमा ४० प्रतिशत को उल्लेख्य वृद्धि भएको छ ।
पुनर्बीमा खर्च भने केही घटेको छ । समीक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ३९ करोड ३१ लाख रुपैयाँ खर्च गरेको छ । गत वर्ष यो ४० करोड ९१ लाख रुपैयाँ थियो ।
इक्विटी पक्ष हेर्दा, स्पेसल रिजर्भ १ अर्ब ७८ करोड ४७ लाख रुपैयाँ (अघिल्लो वर्ष असार मसान्त १ अर्ब ६९ करोड ६१ लाख), रिटेन्ड अर्निङ ११ करोड ५१ लाख रुपैयाँ (अघिल्लो वर्ष ७ करोड २५ लाख) र अन्य इक्विटी ८२ करोड ८४ लाख रुपैयाँ (अघिल्लो वर्ष ८० करोड ८३ लाख) रहेको छ ।
घाटाबाट नाफामा फर्कनुका साथै बीमाशुल्क आर्जनमा भएको मजबुत वृद्धिले ओरिएन्टल इन्स्योरेन्सले व्यवसाय विस्तार र दाबी व्यवस्थापनमा प्रभावकारी प्रदर्शन गरेको संकेत गर्छ ।










प्रतिक्रिया