धादिङको विकासमा ध्यान दिन आग्रह

धादिङ कर्णालीभन्दा पनि विकासको सूचकाङ्कमा पछाडि परेकाले जनप्रतिनिधिहरुलाई विकासको काममा ध्यान दिँदै काम गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्प कँडेलले आग्रह गर्नुभएको छ ।

Advertisement

सातौँ धादिङ महोत्सवअन्र्तगत कृषि प्रदर्शनीमा पुरस्कृत कृषकलाई आज पुरस्कार वितरण गर्दै डा कँडेलले भन्नुभयो, “कर्णालीको वार्षिक प्रतिव्यक्ति आय ६३७ अमेरिकी डलर छ, धादिङको ६०७ डलर छ । नेपालको गरिबी मापन गर्दा १८ प्रतिशतमात्र रहेकामा धादिङको २८ प्रतिशत छ ।”

धादिङको विकास गनुपर्ने सूचीमा सङ्घीय सरकारसँग धादिङसमेत रहेकाले रुबीभ्याली सडक सञ्जालले जोड्ने, १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत् परियोजना निर्माण, पृथ्वीराजमार्ग समानान्तर हुने गरी त्रिशूलीवारि वैकल्पिक राजमार्ग निर्माण गर्ने, रुबीभ्याली हिमाली पर्यटनका लागि काम गर्न सङ्घीय सरकारसमेत लागेकाले आफूले सहयोग गर्ने उपाध्यक्ष डा कँडेलले प्रतिबद्धता जनाउनुभयो ।

धादिङबेसी तिप्लिङ हुँदै स्याफ्रुबेँसी सडक, गङ्गाजमुना पर्यटन विकास, भैरवी मन्दिर धार्मिक पर्यटन क्षेत्र विकास, महाभारत पर्यटन पदमार्ग, एक पालिका एक औद्योगिक क्षेत्र निर्माणलगायतका विकासका काम आगामी वर्ष गर्ने भएकाले विकासका लागि स्थानीय सरकार निरन्तर लागिरहन उहाँले आग्रह गर्नुभयो । राष्ट्रिय योजना आयोगले समपूरक र विशेष अनुदान दिनका लागि पालिकासँग निवेदन आह्वान गरेकामा धादिङका १३ पालिकामध्ये १० पालिकाले मात्र आफूलाई बजेट चाहिएको भन्दै निवेदन दिएको उल्लेख गर्दै डा कँडेलले धादिङको बढी विकास गर्नुपर्ने क्षेत्र रहेको पालिकाले रकम नमागेकाले किन यस्तो भएको भन्ने प्रश्न गर्नुभयो । दुई सय ६१ कृषकले गरेको कृषि प्रदर्शनीमा सहभागीमध्ये ५५ कृषक पुरस्कृत भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री