
काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ८ सय १३ जना सवारीचालक कारबाहीमा परेका छन्। प्रहरी कार्यालयले चलाएको विभिन्न जाँच अभियानका क्रममा २४ घण्टाभित्र ती चालकहरूलाई कारबाही गरिएको हो।
कारबाहीमा परेका चालकहरूबाट राज्यकोषमा ५ लाख २८ हजार ५ सय १ रुपैयाँ राजस्व दाखिला भएको छ। पछिल्लो समय उपत्यकामा ट्राफिक नियम पालना गराउन प्रहरीले सक्रियता बढाएसँगै ठुलो सङ्ख्यामा चालकहरू कारबाहीमा पर्ने गरेका छन्।
कारबाहीमा पर्नेहरूमध्ये सबैभन्दा धेरै अन्य विभिन्न नियम पालना नगर्ने १ हजार १ सय १० जना रहेका छन्। यसैगरी सङ्केत बत्ती (ट्राफिक लाइट) उल्लङ्घन गर्ने १ सय १९ र सडकपेटीमा पार्किङ गर्ने १ सय १७ जना चालक कारबाहीमा परेको प्रहरीले बताए।
प्रहरीका अनुसार तीव्र गतिमा सवारीसाधन हुइँक्याउने १ सय १५ र नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १ सय ५ जनालाई पनि कारबाही गरिएको छ। लेन अनुशासन पालना नगर्ने १ सय २ र निषेधित क्षेत्रमा हर्न बजाउने ७९ जना चालक पनि कारबाहीमा समेटिएका छन्।
एकतर्फी सडकमा सवारी चलाउने ६५ र मादकपदार्थ सेवन गरेर सवारी हाँक्ने ९ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको छ। उपत्यकाको समग्र यातायात व्यवस्थापन र दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले जाँचमा कडाइ गरिरहेको बताए।









प्रतिक्रिया