
फिफा विश्वकप २०२६ को उपाधि दाबेदार फ्रान्स प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ। फिलाडेल्फिया स्टेडियममा खेलिएको खेलमा पाराग्वेलाई १–० गोल अन्तरले पराजित गर्दै फ्रान्सले अन्तिम आठको यात्रा तय गरेको हो।
३८ डिग्री सेल्सियसको अत्यधिक गर्मीबीच खेलिएको खेलको पहिलो हाफ निकै प्रतिस्पर्धात्मक र गोलरहित बनेको थियो। फ्रान्सले सुरुदेखि नै बलमा नियन्त्रण कायम राखे पनि पाराग्वेको अनुशासित र सशक्त रक्षापंक्ति तोड्न निकै संघर्ष गर्नुपर्यो।
खेलको ५४औँ मिनेटमा मानु कोनेले प्रहार गरेको बललाई पाराग्वेका गोलरक्षक ओरलान्डो गिलले बचाएका थिए। खेलको ७०औँ मिनेटमा मैदान प्रवेश गरेका डिजिरे डुएलाई पेनाल्टी क्षेत्रमा डिएगो गोमेजले लडाएपछि फ्रान्सले पेनाल्टीको अवसर पायो।

भिएआर समीक्षापछि प्राप्त पेनाल्टीलाई कप्तान किलियन एमबाप्पेले गोलमा परिणत गर्दै फ्रान्सलाई खेलमा अग्रता दिलाए। एमबाप्पेले गरेको त्यही एकमात्र गोल नै फ्रान्सको जितका लागि निर्णायक साबित भयो।
यो गोलसँगै जारी विश्वकपमा एमबाप्पेको गोल सङ्ख्या सात पुगेको छ। यस विधामा उनी अर्जेन्टिनाका लियोनेल मेस्सीको बराबरीमा पुग्दै गोल्डेन बुटको दौडमा अग्रस्थानमा रहेका छन्।
विश्वकप इतिहासमा एमबाप्पेको कुल गोल सङ्ख्या १८ पुगेको छ। सन् २०१० यता पहिलो पटक विश्वकपमा फर्किएको पाराग्वेको यात्रा भने अन्तिम १६ मा आएर टुंगिएको छ।

पहिलो हाफमा दुवै टोलीले विपक्षीको गोलपोस्टको दिशामा एउटा पनि प्रहार गर्न सकेका थिएनन्। दोस्रो हाफमा फ्रान्सले आक्रामक खेलको गति बढाउँदै पाराग्वेको रक्षापंक्तिलाई दबाबमा राखेको थियो।
अब फ्रान्सले सेमिफाइनल प्रवेशका लागि क्वाटरफाइनलमा मोरक्कोको सामना गर्नेछ। मोरक्कोले यसअघि नै सहआयोजक क्यानडालाई ३–० गोल अन्तरले हराएर अन्तिम आठमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ।









प्रतिक्रिया