
सह आयोजक क्यानडालाई पराजित गर्दै मोरक्को फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। शनिबार ह्युस्टन स्टेडियममा भएको खेलमा मोरक्कोले क्यानडालाई ३–० गोल अन्तरले पराजित गरेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको सुरुवाती समयमै मोरक्कोले अग्रता बनाएको थियो। खेलको ५०औँ मिनेटमा अचरफ हाकिमीको फ्रिकिक पासलाई सदुपयोग गर्दै अजेदिन ओनाहीले पेनाल्टी क्षेत्रबाहिरबाट उत्कृष्ट गोल गरे।
खेलको ८२औँ मिनेटमा ब्राहिम डियाजको पासमा ओनाहीले व्यक्तिगत दोस्रो गोल गर्दै मोरक्कोलाई २–० को बलियो स्थितिमा पुर्याए। इन्जुरी समयको आठौँ मिनेटमा डियाजकै पासमा सौफियान रहिमीले गोल थपेपछि मोरक्कोले ३–० को सहज जित सुनिश्चित गर्यो।
खेलको सुरुआतमा क्यानडाले आक्रामक रणनीति अपनाए पनि गोल गर्न भने सकेन। जोनाथन डेभिड र टानी ओलुवासेयीले सुरुवाती ११ मिनेटभित्र पाएका उत्कृष्ट अवसरलाई मोरक्कोका गोलरक्षक यासिन बोनोले विफल पारिदिए।
पहिलो हाफमा दुवै टोलीबीच निकै कडा प्रतिस्पर्धा खेलिएको थियो। मैदानमा खेलाडीबीच तनाव बढेपछि इंग्लिस रेफ्री माइकल ओलिभरले खेलभर सात पहेँलो कार्ड प्रयोग गरे।

यो जितसँगै मोरक्को जारी विश्वकपको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बन्न सफल भएको छ। उसले सन् २०२२ को विश्वकपमा सेमिफाइनल पुगेको आफ्नो ऐतिहासिक यात्रालाई दोहोर्याउने सम्भावनालाई बलियो बनाएको छ।
पराजित क्यानडा विश्वकपको अन्तिम १६ बाट बाहिरिए पनि उसले घरेलु मैदानमा ऐतिहासिक नतिजा दिलाएको छ। क्यानडाले यसपटक विश्वकपमा पहिलो अंक, पहिलो जित र पहिलो पटक समूह चरण पार गर्ने कीर्तिमान बनायो।
यसका साथै टोलीले पहिलो पटक नकआउट चरणको यात्रा तय गर्दै पुरुष विश्वकप इतिहासमै आफ्नो सबैभन्दा सफल नतिजा दर्ता गराएको छ। मोरक्को अब विश्वकपको सेमिफाइनल यात्रा तय गर्नबाट केवल एक जित टाढा रहेको छ।









प्रतिक्रिया