
नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै पहिलोपटक रुखमा बस्ने वन्यजन्तुका लागि ‘ओभरहेड क्यानोपी ब्रिज’ निर्माण गरिएको छ। नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट जङ्गलस्थित पितौजीमा जैविक विविधता संरक्षणलाई प्राथमिकता दिँदै यो विशेष पुल बनाइएको हो।
वन क्षेत्रमा सडक विस्तार भएपछि बाँदर लगायतका वन्यजन्तुको प्राकृतिक आवागमनमा असर नपरोस् भन्ने उद्देश्यले यो संरचना तयार पारिएको आयोजनाका सूचना अधिकारी शिव खनालले बताए। सडक विस्तारसँगै वन्यजन्तुको बासस्थान र आवागमनमा पर्ने प्रभाव न्यूनीकरण गर्न यो पहिलो अभ्यास गरिएको उनले जानकारी दिए।
बाँदर तथा लङ्गुर जस्ता वन्यजन्तुले सडकमा झरेर बाटो पार गर्नुपर्ने बाध्यता हटाउन र सवारी दुर्घटनाको जोखिम कम गर्न यो संरचना उपयोगी हुने देखिएको छ। यसको प्रयोग र प्रभावकारिताको अध्ययन गरेपछि आवश्यकता अनुसार अन्य उपयुक्त स्थानमा पनि यस्ता क्यानोपी ब्रिज थपिने योजना छ।
यस संरचनाले वन्यजन्तुको प्राकृतिक व्यवहार संरक्षण गर्नुका साथै चालक र यात्रुको सुरक्षामा समेत सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ। पूर्वाधार विकाससँगै वातावरण र जैविक विविधताको रक्षाका लागि यो नयाँ अभ्यास कोशेढुङ्गा बन्ने देखिन्छ।
एसियाली विकास बैंक (एडिबी) को सहुलियतपूर्ण ऋण सहयोगमा ११३ किलोमिटर लामो नारायणघाट–बुटवल सडक विस्तारको काम भइरहेको छ। पूर्वी र पश्चिमी दुई खण्डमा विभाजन गरेर निर्माण भइरहेको यस आयोजनाको पूर्वी खण्डमा मुख्य सडकको कालोपत्र र ढलानको काम सकिएको छ।
आयोजना कार्यालयका अनुसार सन् २०२६ जुन महिनासम्म यस खण्डको समष्टिगत भौतिक प्रगति ९२.३८ प्रतिशत पुगेको छ। सडक निर्माणसँगै वातावरणीय प्रभाव न्यूनीकरणका लागि वन्यजन्तुमैत्री संरचना, नाला, हरियाली प्रवर्द्धन र सडक सुरक्षाका विभिन्न उपायहरू कार्यान्वयन भइरहेका छन्।









प्रतिक्रिया