मन्दिर निर्माणमा २२ लाख रुपैयाँ भ्रष्टाचार : १० जनामाथि मुद्दा दायर

बझाङको छविसपाथिभेरा गाउँपालिका–६ स्थित श्री बौठपाली देवता मन्दिर निर्माण योजनामा २२ लाख १ हजार ६ सय ६५ रुपैयाँ अनियमितता भएको आरोपमा १० जनाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार आरोपपत्र दायर गर्दै यसबारे जानकारी दिएको हो।

Advertisement

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट आर्थिक वर्ष २०७५/७६ मा नयाँ पर्यटन गन्तव्य पहिचान तथा विकासका लागि दुर्गाथली गाउँपालिकामार्फत ४५ लाख रुपैयाँ विनियोजन गरिएको थियो। कुल ५६ लाख ७ हजार ८ सय ९७ रुपैयाँ ८० पैसा लागत अनुमान रहेको सो योजनामा उपभोक्ता सहभागिता ११ लाख ७ हजार ८ सय ९७ रुपैयाँ ८० पैसा र कन्टिन्जेन्सी २ लाख २५ हजार रुपैयाँ राखिएको थियो।

कसरी भयो अनियमितता ?

निर्माण कार्यका क्रममा वास्तविकभन्दा बढी काम भएको देखाउने, अस्वाभाविक दररेट कायम गर्ने, सम्झौताअनुसारको जनसहभागिता रकम कम कट्टा गर्ने तथा झुट्टा वित्तीय भरपाई खडा गरिएको अख्तियारको अनुसन्धानले देखाएको छ। सोही आधारमा २२ लाख १ हजार ६ सय ६५ रुपैयाँ बढी भुक्तानी दिएको तथा लिएको अख्तियारले पुष्टि गरेको छ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८, दफा १९ र दफा २२ बमोजिम कसुर ठहर गरी बिगो असुल, कैद तथा जरिवानाको मागदाबी गरेको छ। झुट्टा भरपाई बनाएर राज्यकोषको दुरुपयोग गरेको दाबीसहित अख्तियार अदालत पुगेको हो।

उक्त कार्यमा संलग्न रहेको आरोपमा दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल र तत्कालीन लेखापाल प्रेमप्रसाद पौडेलविरुद्ध मुद्दा दायर भएको छ। त्यस्तै छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन इन्जिनियर हिक्मत रावल, सब–इन्जिनियर बमबहादुर बोहरा र तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतालालाई पनि प्रतिवादी बनाइएको छ।

वडा नं. ६ का तत्कालीन वडा अध्यक्ष मोहन लाल विक सहित श्री बौठपाली देवता मन्दिर निर्माण समितिका अध्यक्ष कृष्णबहादुर बुढा, सचिव जयबहादुर बुढा तथा कोषाध्यक्ष मधुलीदेवी बुढाविरुद्ध पनि आरोपपत्र दायर गरिएको छ। निर्माण कार्यमा संलग्न सबै संयन्त्रको मिलेमतोमा रकम हिनामिना भएको अख्तियारको निष्कर्ष छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री