ग्रेस फर्मास्युटिकल्सको ‘लिनारेस एम ८५०’ बिक्रीमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन

रुपन्देहीस्थित ग्रेस फर्मास्युटिकल्स प्रालिद्वारा उत्पादित ‘लिनारेस एम ८५०’ ट्याब्लेट गुणस्तरहीन भेटिएपछि सरकारले यसको बिक्री-वितरणमा रोक लगाएको छ ।

Advertisement

औषधि व्यवस्था विभागले बजार अनुगमनका क्रममा सङ्कलन गरेको नमूना परीक्षण गर्दा उक्त औषधि तोकिएको मापदण्ड अनुसार नभएको पाएको हो ।

राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको परीक्षणमा ब्याच नम्बर टीएलएमएस–००६ को उक्त ट्याब्लेट असुरक्षित र कमसल प्रमाणित भएको विभागले जनाएको छ । गुणस्तरहीन पुष्टि भएसँगै विभागले उक्त व्याचका औषधिहरू बजारबाट तुरुन्त फिर्ता लैजान उत्पादक कम्पनीलाई कडा निर्देशन दिएको छ ।

औषधि ऐन, २०३५ को दफा १४ को व्यवस्था बमोजिम विभागले सो ब्याचको औषधि खरिद–बिक्री र सर्वसाधारणमा प्रयोग हुन नदिन तत्काल रोक्का गर्ने निर्णय गरेको हो । उक्त ब्याचका सम्पूर्ण औषधिहरू बजारबाट फिर्ता गरी सोको विवरण विभागमा बुझाउन ग्रेस फर्मास्युटिकल्सलाई सचेत गराइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री