ट्राफिक नियम उल्लंघनमा नयाँ जरिवाना:कुन गल्तीमा कति जरिवाना ? (सूचीसहित)

सरकारले सवारी तथा यातायात व्यवस्थापनलाई थप सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन कडा कानुनी सजाय र ठुलो रकमको जरिवानासहितको नयाँ व्यवस्था गर्ने तयारी गरेको छ।

Advertisement

पूर्वाधार विकास मन्त्रालयले तयार पारेको ‘सवारी तथा यातायात सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ मार्फत ट्राफिक नियम उल्लंघन गर्ने चालकमाथि कडा कारबाहीको प्रस्ताव गरिएको हो। राय सुझावका लागि अहिले कानुन मन्त्रालयमा पुगेको यस विधेयकको दफा ६२ मा यातायात निरीक्षक र सहायक निरीक्षकलाई सडकमै तत्काल जरिवाना (स्पट फाइन) गर्न सक्ने विशेष अधिकार दिइएको छ।

प्रस्तावित व्यवस्था अनुसार ट्राफिक प्रहरीले चालकलाई ३९ प्रकारका नियम उल्लंघनमा तत्काल सडकमै ५०० रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछन्।

विधेयकमा प्रस्ताव गरिएको कसुर र जरिवानाको विस्तृत विवरण यस प्रकार छ:

१. सबैभन्दा ठूलो जरिवाना (१ लाख रुपैयाँ)

सवारी साधनमा अपारदर्शी (टिन्टेडे) सिसा राखेमा वा बाहिरबाट भित्र नदेखिने गरी सिसामा कुनै पनि वस्तु टाँसेमा सबैभन्दा बढी १ लाख रुपैयाँ जरिवाना प्रस्ताव गरिएको छ।

२. मापसे, लापसे र तीव्र गति (सवारी साधनको प्रकार अनुसार)

मादक पदार्थ (मापसे) वा लागु पदार्थ (लापसे) सेवन गरी सवारी चलाएमा र तीव्र गतिमा कुदाएमा सवारीको वर्गीकरण अनुसार जरिवाना तोकिएको छ:

  • दुई वा तीन पाङ्ग्रे सवारी: २५ हजार रुपैयाँ
  • साना सवारी साधन: ३५ हजार रुपैयाँ
  • मझौला तथा ठूला सवारी साधन: ५० हजार रुपैयाँ

तीव्र गतिको हकमा तोकिएको गति सीमाभन्दा ५% सम्म बढी भए जरिवाना लाग्ने छैन। २०% सम्म बढी भए तोकिएको जरिवानाको २० प्रतिशत, २० देखि ४०% सम्म बढी भए ४० प्रतिशत, ४० देखि ६०% सम्म बढी भए ६० प्रतिशत र ६०% भन्दा बढी गति भए शतप्रतिशत जरिवाना लाग्नेछ।

३. ५ हजारदेखि १५ हजार रुपैयाँसम्मको जरिवाना

सवारी दर्ता प्रयोजन विपरीत (रातो प्लेट भाडामा) चलाएमा, अनुमतिपत्र (लाइसेन्स) नलिई वा अर्कै वर्गको चलाएमा, जाँचपास नगराई वा प्रदूषण फेल सवारी चलाएमा:

दुई पाङ्ग्रेको हकमा: ५ हजार रुपैयाँ

तीन पाङ्ग्रे र साना सवारीको हकमा: १० हजार रुपैयाँ

मझौला र ठूला सवारीको हकमा: १५ हजार रुपैयाँ

४. अन्य गम्भीर कसुर र जरिवाना

अनुमति नलिई विदेशी सवारी साधन चलाएमा: २५ हजार रुपैयाँ

लामो दुरीको बाटोमा सिट क्षमता भन्दा बढी यात्री राखेमा: २० हजार रुपैयाँ (मध्यम दुरीमा १० हजार र छोटो दुरीमा ५ हजार)

मालवाहक सवारीमा वजनको हदभन्दा बढी बोकेमा र पञ्जीकरण नगरी सार्वजनिक यातायात चलाएमा: १५ हजार रुपैयाँ

लेन अनुशासन पालना नगरेमा, फुटपाथ वा वान-वेमा विपरित चलाएमा, बाटो इजाजत (रुट पर्मिट) नलिई चलाएमा र चालकले मोबाइल प्रयोग गरेमा: १० हजार रुपैयाँ

तेस्रो पक्ष बीमा (थर्ड पार्टी) नगराई सवारी चलाएमा: सार्वजनिकलाई १० हजार र अन्यलाई ५ हजार रुपैयाँ

सडकमा सामग्री वा पशु चौपाया छाडी अवरोध पुर्‍याएमा: ५ हजार देखि २५ हजार रुपैयाँसम्म

५. ५ सयदेखि ५ हजार रुपैयाँसम्मका जरिवानाहरू

५ हजार रुपैयाँ: सवारीको ढोका खुल्ला राखी चलाएमा, अनधिकृत रूपमा ट्राफिक संकेत हटाएमा वा बिगारेमा, खतरनाक वस्तु ढुवानीमा संकेत नराखेमा र निषेधित स्थानमा पार्किङ गरेमा।

३ हजार देखि ५ हजार रुपैयाँसम्म: हेलचक्र्याइँ वा लापरवाहीपूर्वक सवारी चलाएमा, ट्राफिक संकेत पालना नगरेमा र निर्धारित गति भन्दा धेरै कम गतिमा सवारी चलाएमा।

३ हजार रुपैयाँ: हेलमेट वा सिट बेल्ट नलगाई चलाएमा, मिटर ट्याक्सीले मिटरमा जान नमानेमा, सार्वजनिक सवारीमा यात्रीलाई खतरा हुने गरी सामान ढुवानी गरेमा र प्रशिक्षार्थीले प्रशिक्षक बिना सवारी चलाएमा।

२ हजार रुपैयाँ: ओभरटेक निषेध क्षेत्रमा ओभरटेक गरेमा, रातमा बत्ती नबाली चलाएमा, अफलाइन सेवा (राइड शेयरिङ) प्रदान गरेमा, दुर्घटनापछि चालक/कर्मचारीले कर्तव्य पालना नगरेमा र निर्धारित सिट क्षमतासम्म यात्री लिन इन्कार गरेमा।

१ हजार रुपैयाँ: आवश्यक कागजात (बिलबुक/लाइसेन्स) साथमा नराखेमा, सडकमा फोहोर फालेमा र निषेधित क्षेत्र/समयमा सवारी चलाएमा।

५ सय रुपैयाँ: निषेधित क्षेत्रमा हर्न बजाएमा, पैदल यात्रीले जथाभावी सडक पार गरेमा तथा चालक/परिचालकले तोकिएको पोशाक र परिचयपत्र नलगाएमा।

विधेयकमा एउटै कसुर दोस्रो पटक गरेमा तोकिएको जरिवानामा ५० प्रतिशत थप हुने र सो भन्दा बढी पटक नियम मिचेमा शतप्रतिशत (दोब्बर) जरिवाना लाग्ने कडा व्यवस्था गरिएको छ। जरिवाना तुरुन्त भुक्तानी नगरेमा ट्राफिक प्रहरीले लाइसेन्स, बिलबुक वा रुट पर्मिट नियन्त्रणमा लिन सक्नेछ।

तर, प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्न बिलबुक वा लाइसेन्स ‘नागरिक एप’ वा विद्युतीय पोर्टलबाट देखाउन सकेको खण्डमा भने ‘कागजात साथमा नराखेको’ कसुरमा जरिवाना लाग्ने छैन।

प्रतिक्रिया

सम्बन्धित सामाग्री