
कर्णाली प्रदेशको हिमाली जिल्ला जुम्ला केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ५ बजेर ३६ मिनेट जाँदा जुम्लाको तामती आसपास केन्द्रबिन्दु भएर ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का जुम्ला र त्यस वरपरका क्षेत्रमा समेत महसुस गरिएको केन्द्रले जनाएको छ । बिहानीपख धक्का महसुस भएपछि स्थानीय बासिन्दा त्रसित बनेका थिए ।
यसअघि आइतबार दिउँसो पनि कर्णालीकै अर्को हिमाली जिल्ला हुम्लामा भूकम्पको धक्का महसुस गरिएको थियो । सो दिन दिउँसो २ बजेर ३२ मिनेट जाँदा हुम्लाको श्रीनगर आसपास केन्द्रबिन्दु भएर ४ दशमलव १ म्याग्निच्युडकै भूकम्प गएको थियो ।
चार दिनको छोटो अन्तरालमा कर्णालीका दुई छिमेकी जिल्लामा समान क्षमताका भूकम्पका धक्का रेकर्ड भएका हुन् । लगातारका यी कम्पनले हिमाली क्षेत्रमा परकम्पको जोखिम बढाएको भूकम्प मापन केन्द्रका अधिकारीहरूले बताए ।









प्रतिक्रिया