मनसुनजन्य विपद्: देशभर ५४ अस्थायी वेश स्थापना, ८ हजार बढी सशस्त्र प्रहरी तयारी अवस्थामा

मनसुनजन्य विपद् प्रतिकार्यलाई तीव्र बनाउन सशस्त्र प्रहरी बलले देशका विभिन्न ५४ स्थानमा अस्थायी मनसुन प्रतिकार्य वेश स्थापना गरेको छ। नियमित कार्यालयबाट उद्धार टोली पुग्न समय लाग्ने जोखिमयुक्त क्षेत्र पहिचान गरी यी अस्थायी वेश खटाइएको हो। जसअनुसार कोशीमा छ, मधेसमा ११, बागमतीमा १६, गण्डकीमा चार, लुम्बिनीमा सात, कर्णालीमा दुई र सुदूरपश्चिम प्रदेशमा आठ वटा अस्थायी वेश क्रियाशील भएका छन्।

यसबाहेक धनकुटा, सुनसरी, बारा, सप्तरी, धादिङ, सिन्धुली, मकवानपुर, काभ्रेपलाञ्चोक, म्याग्दी, गोरखा, दाङ, सुर्खेत, जुम्ला, डडेल्धुरा, डोटी र कैलाली गरी १६ स्थानमा वर्षैभरि रहने स्थायी विपद् व्यवस्थापन वेश समेत तयारी अवस्थामा छन्। उपलब्ध स्रोत र साधनको अधिकतम प्रयोग गरी उद्धार कार्य चुस्त बनाउने योजना रहेको सशस्त्र प्रहरीका प्रवक्ता एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक नेत्रबहादुर कार्कीले बताए।

८ हजारभन्दा बढी जनशक्ति चौबीसै घण्टा ‘अलर्ट’

Advertisement

यस वर्षको मनसुनजन्य विपद्सँग जुध्नका लागि ८ हजार १ सय ८० सशस्त्र प्रहरी कर्मचारीलाई चौबीसै घण्टा तयारी अवस्थामा राखिएको छ। असार मसान्तसम्म सम्पूर्ण सशस्त्र प्रहरीलाई विपद् व्यवस्थापन अनुशिक्षण तालिम प्रदान गरिसक्ने संगठनको लक्ष्य छ। बाढी तथा डुबान प्रभावितको उद्धारका लागि सशस्त्र प्रहरीसँग रहेका ८२ वटा र्‍याफ्ट बोट र ५३ वटा मोटर बोट तयारी अवस्थामा राखिएका छन्।

देशभरका ११ वटा जोखिमयुक्त स्थानमा आवश्यक उपकरणसहित ४ हजार ७ सय १० जना दक्ष जनशक्ति र १ सय ३४ जना गोताखोर तैनाथ गरिएको प्रवक्ता कार्कीले बताए। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यसवर्ष देशभर करिब ५१ हजार ८ सय ८६ घरधुरीका २ लाख २६ हजार ६ सय ६१ जनसङ्ख्या मनसुनबाट प्रभावित हुने अनुमान छ। प्रदेशगत रूपमा लुम्बिनीमा सबैभन्दा धेरै ५१ हजार ६ सय २६ र कर्णालीमा सबैभन्दा कम १३ हजार १ सय ७५ जनसङ्ख्या प्रभावित हुन सक्ने आँकलन गरिएको छ।

डिजिटल प्रविधि र सूचना सञ्जालको प्रयोग

विपद्सम्बन्धी सूचना समयमै प्राप्त गरी उद्धार कार्यलाई गति दिन सशस्त्र प्रहरीले १ लाख ६८ हजार ९ सय ५६ जना विपद् सूचक रहेको एक विशेष सञ्जाल तयार पारेको छ। यी सूचकहरूले आफ्नो क्षेत्रमा विपद् हुनासाथ तत्कालै नजिकको सशस्त्र प्रहरी युनिटमा खबर गर्नेछन्।

छिटो सूचना प्रवाहका लागि सशस्त्र प्रहरीले ‘एपिएफ–कम्युनिटी अलर्ट सिस्टम’ (एपिएफ–सिएएस) प्रणाली समेत सञ्चालनमा ल्याएको छ। यो डिजिटल प्रणालीमार्फत हरेक बाहिनीको परिचालन कक्षमा तत्काल सूचना पुग्ने र टोलीहरू शीघ्र घटनास्थलतर्फ प्रस्थान गर्ने व्यवस्था मिलाइएको प्रवक्ता कार्कीले बताए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री