
धादिङको सिद्धलेक गाउँपालिका–७ पिपलटारमा आधुनिक कृषि प्रविधिको प्रयोग र प्राविधिक ज्ञानको विस्तारले तरकारी उत्पादन दोब्बर बढेको छ । परम्परागत खेती प्रणाली त्यागेर वैज्ञानिक विधि अपनाएपछि कृषकहरूको उत्पादनमा उल्लेख्य सुधार आएको हो ।
विगतमा २ सय किलो भण्टा उत्पादन हुने जग्गामा अहिले ४ सय किलोसम्म फल्न थालेको अगुवा कृषक कृष्ण अधिकारीले बताए । बिरुवा रोप्ने समयमा निश्चित दूरी नापेर लगाउँदा उत्पादन बढेको र प्राविधिकहरूले खेतबारीमै आएर रोग कीराबारे सिकाउने गरेको उनले उल्लेख गरे ।
पिपलटारका किसानले विगत दुई वर्षदेखि खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना (फानसेप) बाट खेतबारीमै प्राविधिक सहयोग पाइरहेका छन् । अहिले यस क्षेत्रका फाँटहरू घिरौँला, बोडी, भिण्डी, लौका, करेला र भण्टा जस्ता मौसमी तथा बेमौसमी तरकारीले भरिभराउ भएका छन् ।
सिद्धलेक–७ मा करिब ५ सय किसान तरकारी खेतीमा आबद्ध छन् र एकपटकमा एकजनाले १ हजार किलोसम्म तरकारी सङ्कलन गर्ने गरेका छन् । खेती गर्ने सही तरिका थाहा पाएपछि दुःख कम र उत्पादन बढी भइरहेको स्थानीय कृषक सुनिता कोइराला बिसुन्केले बताइन् ।
उत्पादित तरकारीको सङ्कलन र बजारीकरणलाई व्यवस्थित गर्न फानसेप र गाउँपालिकाको समन्वयमा स्थानीयस्तरमै सङ्कलन केन्द्र सञ्चालन गरिएको छ । सङ्कलन केन्द्रले बिचौलिया प्रथाबाट राहत दिए पनि बजारको उतारचढावका कारण कृषकले अझै उचित मूल्य पाउन सकेका छैनन् ।
वडा नम्बर ७ का झण्डै आधा घरपरिवारको प्रमुख आर्थिक स्रोत नै तरकारी व्यवसाय भएकाले कृषकहरू बजारको मूल्यप्रति पूर्ण सन्तुष्ट हुन सकेका छैनन् । सरकारले बजारको सुनिश्चितता गरेर उचित मूल्य दिलाएमा कृषकहरूलाई ठूलो राहत पुग्ने अगुवा किसान सीता गिरीले बताइन् ।









प्रतिक्रिया